देवदह । साना किसान कृषि सहकारी केरवानीले साधारणसभामा सदस्यहरुलाई अर्गानिक घ्यू कोशेली प्रदान गरेको छ । शनिबार सम्पन्न २५ औँ साधारण सभामा स्थानीय देवदहमै उत्पादित ५ सय ग्राम घ्यू कोशेलीको रुपमा प्रदान गरिएको सहकारीका अध्यक्ष दिपक पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार यसअघिका साधारण सभामा दिइदै आएको यातायात खर्च नगरपालिकाले दिन नपाइने परिपत्र गरेपछि विकल्पको रुपमा अर्गानिक घ्यू कोशेलीको रुपमा दिइएको हो । ‘घ्यू दिंदा किसानद्धारा उत्पादित दुधले मुल्य पाउने र स्थानीय उत्पादनको पनि खपत हुने भएकाले घ्यू दिने निर्णय गरेका हौ ।’ उनले भने ।
साधारण सभामा घ्यू कोशेली पाएपछि सहकारीका सबै सदस्यहरु खुसी भएको सेयर सदस्य गोमा पौडेलले बताइन् । ‘कतिपय सहकारीमा गोला पर्थाद्धारा कोशेली प्रदान गर्ने चलन छ त्यसो गर्दा कसैले पाउने कसैले नपाउने हुन्थ्यो हाम्रो सहकारीले सबै सदस्यलाई सबै सदस्यलाई समान व्यवहार गरेको छ ।’ उनले भनिन् ।
सहकारीको आर्थिक वर्ष २०८१/०८२ मा ऋण लागानी १२ करोड ४० लाख ३९ हजार ७ सय ४ रुपैयाँ, बैक मौज्दात १ करोड ५५ लाख ५० हजार ३६ रुपैयाँ, सेयर पूँजी १ करोड ५ लाख ७८ हजार ३ सय र बचत तथा निक्षेप ९ करोड ८ लाख ८६ हजार २ सय २५ रहेको सहकारीले जनाएको छ ।
पछिल्लो सयम सहकारीको साधारसभामा सदस्यहरुको उपस्थिती न्यून हुँदै गइरहेको सन्दर्भमा साना किसान कृषि सहकारीको साधारसभामा ६६ प्रतिशत सदस्यहरु उपस्थित रहेको सहकारीका प्रबन्धक सिता अधिकारीले जानकारी दिइन् ।
कार्यक्रममा उच्च माध्यामिक तहमा उत्कृष्ट अंक प्राप्त गर्ने सेयर सदस्यका छोरा छोरीहरु शौरभ शर्मा र कृति ढकाल, अटो चालक, तरकारी खेती, फेन्सी पसल, उत्कृष्ट दैनिक बचतकर्तालाई सम्मान गरिएको थियो ।
सो अवसरमा देवदह नगरपालिका वडा नम्वर ३ का अध्यक्ष यज्ञप्रसाद अर्याल, साना किसान लघुवित्त वित्तीय संस्थाका वित्तीय सस्था बुटवलका कार्यालय प्रमुख सेरबहादुर चौधरी, जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पङ्गेनी र देवदह मेडिकल कलेजका मुक्ति काफ्ले बोल्दै सहकारीको विकासका लागि सबै एकजुट हुनु पर्ने बताए । उनिहरुले सहकारीले सदस्यहरुलाई पनि प्रशिक्षित गर्दै जानु पर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology