काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासमेत ७ जना र आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेजविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले कोरोनाको समयमा १३ स्वास्थ्य सामाग्री खरिद गर्नेक्रममा मिलोमतोमा बढी मुल्य कबोल गर्ने फर्मलाई आशय स्वीकृत गरेको पाइएको जनाएको छ । अख्तियारले आफ्नो पद ओहोदाको दुरुपयोग गरेर सार्वजनिक खरिदमा बढी प्रतिस्पर्धा गराई कम लागतमा गुणस्तरीय वस्तु वा सेवा खरिद गर्नुपर्ने कानूनको उद्देश्य विपरीत प्रतिवादीहरुले कम लागतमा स्वास्थ्य सामाग्री आपूर्ति गर्न इच्छुक अन्य प्रतिस्पर्धी बोलपत्रदातालाई नियोजित तवरले प्रतिस्पर्धाबाट हटाई लक्षित बोलपत्रदाता जनमुक्ति हेल्थ इन्टरप्राइजेजलार्इ स्वास्थ्य सामाग्री आपूर्तिको ठेक्का दिएको प्रमाणित भएको जनाएको छ ।
अख्तियारले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका सदस्य) राधा कृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मूल्याङ्कन समितिका सदस्य) राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निशियन (मूल्याङ्कन समितिका सदस्य) रवीकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर (मूल्याङ्कन समितिका सदस्य) राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका सदस्य) नेत्र नर सिंह कार्की, आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेज तथा उक्त कम्पनीका प्रोपाईटर नवराज श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
अख्तियारले सबै आरोपीविरुद्ध जनही ३१ लाख १७ हजार ८९ बिगो कायम गरि कानुन अनुसारको सजाय माग गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology