काठमाडौं । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सम्पन्न राम सीताको दिव्य विवाह स्मरण गर्दै आज देशभर विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको जनकपुरधाममा राम सीता डोला शोभायात्रा, स्वयंवर संस्कार र वैवाहिक विधिसहित विशेष महोत्सव भइरहेको छ।
मिथिला संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह प्रक्रिया सम्पन्न गरिँदै श्रद्धालु भक्तजनको ठूलो उपस्थितिमा रङ्गभूमिमा कार्यक्रम सञ्चालन भइरहेको छ। देवदेवताको अदृश्य सहभागितासहितको विश्वासले यो पर्वलाई अझ पवित्र मानिन्छ। साताव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत आज मुख्य दिन स्वयम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेको छ ।
देशभरका राम सीता मन्दिरमा विशेष पूजा–अर्चना हुँदै यस दिन विवाहका लागि साइत नदेखिने परम्परा रहिआएको छ।
आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार विवाहपञ्चमीको सार्वजनिक बिदा रहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology