बुटवल । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बुटवल उद्योग वाणिज्य संघका पदाधिकारीबीच मंगलवार बुटवलको योगीकुटीमा भेटघाट तथा छलफल भएको छ । लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकमा सहभागी हुन रुपन्देही आएका कार्कीसँग संघका पदाधिकारीले भेटघाट र छलफल गरेका हुन् ।
छलफलका क्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले गत भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले निजी क्षेत्र त्रसित र अन्यौलमा परेको जानकारी गराए । उनले यस्ता गतिविधिमा संलग्नलाई छिटो पहिचान गरी कानुनी कारवाही गर्न र भरपर्दो सुरक्षा वातावरण तयार गर्न आग्रह गरे ।
अध्यक्ष अर्यालले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उद्योग–व्यवसायलाई भयरहित वातावरणमा सञ्चालन गर्न नसकिए अर्थतन्त्रमा गम्भीर असर पर्ने बताए । उनले भने, ‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्र सुरक्षित नहुँदा मुलुककै आर्थिक स्थिरता संकटमा पर्न सक्छ ।’
छलफलमा आईजीपी कार्कीले उद्योग, व्यापार र लगानी सुरक्षित रहे देश समृद्धितर्फ अघि बढ्ने भएकाले निजी क्षेत्रलाई सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे । भारत र चीन जस्ता छिमेकी मुलुकले औद्योगिक विकास र निर्यात वृद्धिका आधारमा तीव्र आर्थिक प्रगति हासिल गरेको उल्लेख गर्दै कार्कीले नेपालमा पनि निजी क्षेत्र र सरकारबीच समन्वय बलियो बनाउनुपर्ने धारणा राखे ।
आईजीपी कार्कीले नेपाल प्रहरी सुरक्षामा कुनै कमी हुन नदिने बताउँदै भने, “चन्दा उठाउने, चोरी-डकैती गर्ने र उच्छृङ्खल गतिविधि देखाउनेलाई कानुनी दायरामा ल्याइन्छ । उद्योगी-व्यवसायी ढुक्क भएर काम गर्न सक्ने वातावरण बनाउने जिम्मा प्रहरी प्रशासनले लिन्छ ।”
छलफलमा संघका पूर्वअध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, तथा प्रहरी अधिकारीहरुको उपस्थिती रहेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology