देवदह । स्वर्णिम सागरमाथा कलेज, देवदह-७ शितलनगरमा शुक्रवार UX/UI Design Competition 2082 हुने भएको छ । विद्यार्थीहरूलाई डिजिटल डिजाइनको व्यावहारिक सीप सिकाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा रुपन्देही जिल्लाका देवदह, बुटवल, सैनामैना र नवलपरासीको सुनवलबाट कक्षा ११ र १२ मा अध्ययनरत १५ वटा विद्यार्थी समूहले प्रतिस्पर्धा गर्नेछन् ।
विद्यार्थीहरूलाई UX/UI को संसारमा अभिरुचि जगाउँदै प्रतिस्पर्धात्मक तथा सहयोगात्मक वातावरणमा प्रविधिमैत्री सीप सिकाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कलेजका कक्षा ११, १२ का संयोजक दिपेश विक्रम मल्लले जानकारी दिए ।
स्वर्णीम आई टी क्लवको अग्रसरतामा भएको कार्यक्रममा प्रतिस्पर्धी समूहले तोकिएको विषयको आधारमा ३–४ घण्टाभित्र ल्यान्डिङ पेज डिजाइन गरी बुझाउनुपर्नेछ । प्रत्येक समूहले कार्यक्रम स्थलमै एउटा ल्यापटपको प्रयोगबाट स्टक आइकन, फन्ट, इमेज र सामान्य अनुसन्धानका लागि मात्र इन्टरनेट प्रयोग गरेर डिजाइन प्रस्तुत गर्न पाउनेछन् । पहिले बनाइएका UI टेम्प्लेट प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
प्रतियोगितामा सहभागी समूहको लागि दर्ता शुल्क प्रति समूह एक हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिका लागि अनलाइन दर्ता अनिवार्य रहेको र दर्ता भइसकेपछि सदस्य परिवर्तन गर्न नपाइने नियम समेत लागू गरिएको छ ।
प्रतिस्पर्धाको क्रममा निर्णायकहरूले प्रयोगकर्ता अनुभवमा ४० प्रतिशत, भिजुअल डिजाइनमा ३० प्रतिशत, सिर्जनात्मकतामा २० प्रतिशत र प्रस्तुति तर्फ १० प्रतिशतको आधारमा मूल्याङ्कन गर्नेछन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले १० हजार रुपैंया, द्धितीय हुनेले ५ हजार रुपैंया र तृतीय हुने समूहले ३ हजार रुपैंया प्राप्त गर्ने जनाइएको छ ।
स्वर्णिम सागरमाथा कलेजले आगामी दिनमा समेत डिजिटल डिजाइन, नवप्रवर्तन र आईटी सीप विकासका कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology