देवदह । सरहन कालिका सामुदायिक वन उपभोक्ता समूह, देवदह-६ ले आर्थिक वर्ष २०८२÷८३ का लागि ५० लाख रुपैंया बजेट विनियोजन गरेको छ ।
१२औं बार्षिक साधारणसभामा समूहका अध्यक्ष समर जर्घा मगरले चालु आर्थिक वर्षमा वन संरक्षण तथा व्यवस्थापन तर्फ ४० प्रतिशत अर्थात २० लाख रुपैंया बजेट विनियोजन गरिएको जानकारी दिए ।
यसैगरी गरिवी निवारण तथा महिला सशक्तिकरण कार्यक्रमका लागि ३० प्रतिशत अर्थात १५ लाख रुपैंया, भौतिक पूर्वाधार विकास तर्फ २० प्रतिशत अर्थात १० लाख रुपैंया र कार्यालय तथा प्रशासनिक खर्च तर्फ १० प्रतिशत अर्थात ५ लाख रुपैंया विनियोजन गरिएको जर्घाले बताए ।
उनले वन संरक्षण तर्फ यसबर्ष नर्सरी व्यवस्थापनसँगै तेजपात, अदुवा, च्याउ, हर्रो, बर्रो जस्ता गैर काष्ठ उत्पादन र प्रवद्र्धनमा सामुदायिक वनले विशेष महत्व दिने उल्लेख गरे । साथै गरिवी निवारण तथा महिला सशक्तिकरण अन्तर्गत आमा समूह, युवा क्लव, कृषक समूह, विद्यालय लगाएतलाई सहयोग गरिने जउनले सो अवसरमा बताए ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जर्घाले समूहले वन संरक्षणसँगै समुदायमा आर्थिक सशक्तिकरण सामाजिक विकास र दिगो पूर्वाधार सुधारलाई प्रार्थमिकतामा राखेर काम गरिरहेको बताए । ‘हामीले योजना मार्फत वन, युवा विद्यालय, कृषक र ज्येष्ठ नागरिकहरुलाई समेट्ने प्रयत्न गरिरहेका हुन्छौं ।’ जर्घाले भने, ‘यसरी समावेसी रुपमा काम गर्दा सामुदायिक आत्मनिर्भरता र सहभागितामा वृद्धि हुनेगर्छ ।’
कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष केशरी थापाले आर्थिक वर्ष २०८१÷०८२ मा ३८ लाख ७२ हजार रुपैंया आम्दानी भएको र सोही बमोजिम खर्च समेत भएको विवरण प्रस्तुत गरिन् ।
सोहि अवसरमा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविन विडारीले सामुदायिक वनहरु उपभोक्ता केन्द्रित हुन सके त्यसबाट लाभ लिन सकिने बताए । उनले वनलाई संरक्षण र संवद्र्धन गर्न सके त्यसले मानव जीवनलाई फाइदा पुग्ने उल्लेख गरे ।
साधारणसभामा गाउँ वन समन्वय सञ्जालका अध्यक्ष खेमनारायण अधिकारी, जनप्रिय सामुदायिक वनका अध्यक्ष रुका सापकोटा, सरहन कालिका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तथा समूहका सल्लाहकार लोकेन्द्र बहादुर जर्घा, सरहन कालिका कृषि सहकारी संस्थाका अध्यक्ष धनबहादुर थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
समूहका उपाध्यक्ष बसन्त जर्घाको स्वागत र सचिव मनकुमारी वकावलको सञ्चालनमा भएको कार्यक्रममा ८० बर्षभन्दा माथीका जेष्ठ नागरिक तथा कक्षा १ देखि ५ सम्मका जेहेन्दार विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology