अर्घाखाँची । पश्चिम नेपालको प्रशिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिरको आर्थिक पारदर्शिता र व्यवस्थापनको बिषयलाई लिएर सन्धिखर्क नगरपालिका र वडा अध्यक्षको बिचमा विवाद चर्किएको छ ।
मन्दिरको आर्थिक पारदर्शिता र संरक्षणको बिषयमा प्रश्न उठाउँदै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले पुस १ गते देखि लागु हुने गरी ५ बुँदे निर्देशन जारी गरेपछि मन्दिर रहेको वडा, वडा नम्बर ७ का अध्यक्ष चुरा बहादुर केसीले पत्रकार सम्मेलन नै गरेर नगरपालिकाले मन्दिरको परम्परामाथि प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका छन् ।
नगपालिकाले पठाएको पत्रमा मन्दिरमा चढाइने बलिको टाउको भक्तजनलाई नै निःशुल्क फिर्ता , भेटी व्यवस्थापनलाई पारदर्शी बनाउन प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहबरमा सीसीटीभीको निगरानीमा रकम गनेर बैंक दाखिला गर्न र दैनिक आम्दानी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको छ । समिति गठन नहुँदासम्म कर्मचारीको तलब रोक्का राख्न र मन्दिरमा नयाँ आर्थिक भार पर्ने काम नगर्न पनि नगरपालिकाले भनेको छ ।
वडा अध्यक्ष केसीले आफु बाहिर भएको मौका छोपेर नगरपालिकाले 'टपरी' जस्तो पत्र पठाएको र मन्दिरको परम्परामाथि प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका छन् । उनले नगरपालिकाको 'हुकुमी शैली' र हस्तक्षेपकारी निर्णय असफल हुने बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology