काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोटको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ ।
पार्टीले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट सक्रिय सदस्यहरूमध्येबाट ९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था गरेको छ । जसअनुसार महिलाबाट ३ जना, उत्पीडित समुदायबाट १ जना तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपाङ्गता भएका समुदायबाट २ जनासहित प्रतिनिधि छनोट गरिनेछ ।
महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवाको सहभागिता अनिवार्य सुनिश्चित गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । हिमाल, पहाड र तराईको जनसङ्ख्यागत प्रतिशतका आधारमा विधान तथा निर्देशिकाबमोजिम प्रतिनिधि छनोट गरिने पार्टीले जनाएको छ ।
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । पदेन प्रतिनिधिबाहेक अन्य प्रतिनिधि भने सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिनेछन् ।
पार्टीको कार्यतालिकाअनुसार योग्य प्रदेशसभा निर्वाचन क्षेत्रमा मंसिर ४ देखि १० गतेसम्म महाधिवेशन प्रतिनिधि छनोट गरिसक्नुपर्ने तालिका तय गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology