काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले बिदाइ भेट गरेका छन् ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको छ ।
सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत छन सोङलाई बधाई दिँदै नेपाल-चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्एको योगदानको उच्च प्रशंसा गरेका थिए । सभामुखले राजदूत सोङको नेपाल बसाइ सुखद र अविस्मरणीय रहेको विश्वास व्यक्त गरेका थिए ।
भेटमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए । उनले नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र र भरपर्दो साझेदार रहँदै आएको तथा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पारे ।
सभामुख घिमिरेले नेपाल एक-चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्याउँदै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
राजदूत सोङले चीनले नेपाललाई कुटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताए । उनले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरे । राजदूत सोङले आफ्नो चीन वर्षे कार्यकालमा सभामुखसहित नेपालका शीर्ष नेताहरूको न्यानो र सकारात्मक सहयोग सदैव स्मरणीय रहने बताएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology