काठमाडौँ । पाशुपत क्षेत्र जयवागेश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको छ । पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको हो ।
‘यो ढुङ्गेधारा लिच्छवीकालीन हो ।’ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगत भन्छन्, ‘प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्न सक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत वृहत ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।’ निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उनले भने- 'विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।’
पानीको निकास भएपछिको योजनाका विषयमा कुरा गर्दै संगत भन्छन्- 'यो केवल पानीको धारो मात्र होइन । नेवार सभ्यताको पहिचान पनि हो । जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इञ्जिनियरिङ्को जीवन्त दशी पनि हो । हामी यसलाई पुनस्थापित गराउँछौँ ।’
‘सुन्धारा वास्तुकलात्मक छ । ढुङ्गाहरुमा कलात्मक वुट्टा छन् । ठाउँठाउँमा देवी देवताका मूर्ति राखिएका छन् ।’ यसको प्रचलनका विषयमा जानकारी दिँदै जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्य भन्छन्, ‘यस धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागेश्वरी माताले नुहाउने गरेको विश्वाश गरिन्छ । अहिले पनि माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानका लागि यही धाराको शुद्ध जल प्रयोग गर्ने चलन छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology