बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवान आधारभूत तालिम ८-११३ औँ समूहका २१८ जना जवान दीक्षित भएका छन् । बिहीबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्टको उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको हो ।
समारोहलाई सम्बोधन गर्दै भट्टले प्रहरी सेवामा अनुशासन, इमानदारी र जनउत्तरदायी व्यवहार सबैभन्दा महत्वपूर्ण हुने बताए । उनले तालिममा सिकेका ज्ञान, सीप र मूल्यलाई कार्यक्षेत्रमा इमानदारीका साथ प्रयोग गर्न दीक्षित प्रहरी जवानहरू आग्रह गरे ।
प्रहरी नायब महानिरीक्षक भट्टसहित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौर लगायतको उपस्थितिमा प्रशिक्षार्थीहरूलाई शपथ गराइएको थियो ।
कार्यक्रममा केन्द्रका तालिम संयोजक प्रहरी नायब उपरीक्षक यमलाल बन्जाडेले तालिम प्रतिवेदन प्रस्तुत गर्दै तालिम अवधिभर सिकाइ, अनुशासन र व्यवहारिक अभ्यासमा जोड दिइएको जानकारी दिए ।
कार्यक्रममा प्रशिक्षार्थीहरूले अनुशासन, तालमेल र क्षमता झल्काउने कवाज प्रदर्शन प्रस्तुत गरेका थिए । त्यस अवसरमा उत्कृष्ट प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई पुरस्कारसमेत वितरण गरिएको छ ।
कार्यक्रममा प्रहरी ब्याण्डले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
२०८१ साल माघ २७ गतेबाट सुरु भएको २३४ कार्यदिनको आधारभूत तालिम २०८२ साल पुस ११ गते दीक्षान्तमा टुंगिएको हो । तालिममा सहभागीमध्ये २ सय १८ जना प्रशिक्षार्थीले सफलतापूर्वक तालिम सम्पन्न गरी दीक्षित भएका हुन् । स्वीकृत वार्षिक तालिम क्यालेन्डर अनुसार आन्तरिक तथा बाह्य गरी पाँच चरणमा तालिम सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।
बि.सं. २०३३ साल मंसिर २४ गते पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका रूपमा स्थापना भएको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल उपमहानगरपालिका वडा नं. १० मा अवस्थित छ । केन्द्रले भर्ना छनोट, आधारभूत तथा उन्नत तालिम सञ्चालन, घुम्ती प्रशिक्षणको अनुगमन तथा सहजीकरण, साथै अन्य निकायलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology