देवदह । स्वर्णिम सगरमाथा क्याम्पसमा क्रिकेट एकेडेमी सुरुवात गरिएको छ । बिहिबार एक कार्यक्रम बिच नेपाली क्रिकेट टिमका पुर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले एकेडेमी उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै नेपाल प्रिमियर लिग सिजन-२ बिजेता टिम लुम्बिनी लायन्सका कोचसमेत रहेका क्रिकेटर गौचनले देवदहले क्रिकेटलाई माया गरिरहेको बताए । गौचनले विश्वकै लोकप्रिय खेलको रुपमा विकास भैरहेको क्रिकेटमा देवदहले लगानी गरिरहेको उल्लेख गरे । उनले स्वर्णिम सगरमाथा क्रिकेट एकेडेमीको सुरुवात त्यसको उदाहरण रहेको विचार समेत व्यक्त गरे ।
देवदहमा क्रिकेटको सम्भावनाबारे बोल्दै क्रिकेटर गौचनले खेल मैदान खेलको विकासको लागि अत्यावश्यक हुने धारणा राखे । आफुले डिसियु खेल मैदानलाई थप व्यवस्थित गर्न समेत योगदान गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि देवदहको क्रिकेट विकासमा आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले सफल जीवनको आधार नै विद्यालय रहेको बताए । आजका चर्चित खेलाडी, कलाकार, विजनेश पर्सन र प्रोफेसनलहरुले आफ्नो करियरको प्रारम्भिक सुरुवात विद्यालय तहबाटै गरेको उल्लेख गर्दै प्रमुख पौडेलले खेलाडीहरुलाई आफ्नो रुचि अनुसारका गतिविधिमा सक्रिय हुन सुझाए ।
सो अवसरमा लुम्बिनी लायन्सको प्रशिक्षक रहेर टिमलाई विजयी गराएको भन्दै कलेजले क्रिकेटर गौचनलाई सम्मान समेत गरेको छ । कलेजका कक्षा ११ र १२ संयोजक दिपेश विक्रम मल्लको संयोजनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology