देवदह । स्वर्णिम सगरमाथा कलेजमा शैक्षिक वर्ष २०८३÷८४ का लागि स्वर्णिम आई टी क्लवको नयाँ कार्यसमिति गठन भएको छ । सूचना तथा सञ्चार प्रविधि (आई टी) क्षेत्रमा विद्यार्थीहरूको नेतृत्व क्षमता, प्राविधिक दक्षता तथा नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान विषय अध्ययन गर्ने करिब ९० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम मार्फत आगामी शैक्षिक सत्रका लागि नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा सुशान्त न्यौपाने, उपाध्यक्षमा सलिना फाल मगर, सचिवमा रबिन अधिकारी, कोषाध्यक्षमा जेनिशा खाती तथा सह–सचिवमा प्रिन्स पाण्डे चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा रमित बिक, खुशी प्रजापति, आयुश गुरुङ, प्रेक्षा लम्साल, सुदिप तामाङ, रोहित गुरुङ र कुन्जल खनाल रहेका छन् ।
सुशान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्राचार्य कृष्णप्रसाद पौडेलले सूचना प्रविधिको बढ्दो महत्वलाई आत्मसात गर्दै आई टी क्लवले विद्यार्थीहरूको प्राविधिक क्षमता अभिवृद्धि, सिर्जनशीलता विकास तथा व्यवहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्राचार्य पौडेलले क्लबमार्फत सञ्चालन हुने गतिविधिहरूले विद्यार्थीहरूलाई भविष्यको प्रतिस्पर्धी बजारका लागि सक्षम बनाउने धारणा राखे ।
कार्यक्रममा कलेजका सह–प्राचार्य प्रदिप अधिकारी, कक्षा ११, १२ का संयोजक दिपेश मल्ल तथा बिबिएस संयोजक बिमल तिवारी लगाएतले बोल्दै विद्यार्थीहरूलाई प्रविधिको क्षेत्रमा निरन्तर सिकाइ, अनुसन्धान तथा व्यवहारिक सीप विकासमा सक्रिय सहभागिता जनाउन आग्रह गरे ।
क्लबका सचिव कृति न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा कलेजले आई टी क्लव मार्फत आगामी दिनमा कोडिङ, डिजाइनिङ र कृत्रिम बुद्धिमत्ता (एआई) लगाएतका तालिम सञ्चालन गर्ने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology