देवदह । उद्योग व्यापार संघ देवदहको आयोजनामा संचालन हुने दशौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारीका क्रममा सुरक्षा निकायसंग छलफल गरिएको छ । मेलाको सुरक्षा उपसमितिको संयोजनमा गरिएको कार्यक्रममा महोत्सवको आन्तरिक र बाह्य सुरक्षाबारे छलफल गरिएको सुरक्षा उपसमिति संयोजक गणेश बहादुर विकले जानकारी दिए ।
सुरक्षा समितिको छलफलमा बोल्दै मेला मूल आयोजक समिति संयोजक गणेश कुमार खातीले महोत्सव सफल बनाउन सबैको सहयोग अपरिहार्य भएको बताए । सुरक्षा निकायसंग समन्वय गर्दै मेलाको सुरक्षा प्रबन्ध मिलाइने उनको भनाइ छ ।
छलफलमा बोल्दै सशस्त्र प्रहरी बल पजरकट्टीका प्रमुख हर्क साउदले महोत्सवको आवश्यक सुरक्षाको लागि आवश्यक सहयोग गर्ने बताए । त्यसैगरी खैरेनी प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले आयोजकले कानुनले बर्जित गरेका सामान विक्री वितरण गर्नबाट कडाइका साथ रोक्नुपर्ने बताए । उनले सुरक्षाको जिम्मा प्रहरीले लिन र आयोजकसंग आवश्यक सहजीकरण गर्न आफु तयार रहेको बताए ।
छलफलमा मेला मूल आयोजक समितिका सांस्कृतिक संयोजक गोविन्द ठडराई, अनुगमन संयोजक परशुराम कंडेल, प्रचार-प्रसार संयोजक विष्णु पोखरेल, सचिवालय संयोजक विनिराम सोमै, सिद्धार्थ सेक्युरिटीका संचालक सुनिल गिरी लगायतको उपस्थिति रहेको थियो ।
यही पौष २३ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, जलपरी अवलोकन, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।
स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहने महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology