काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सहभागी भएका थिए ।
सम्मेलनमा मन्त्री खनालले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असर, हिमनदीको जोखिम, जलवायु न्याय, अनुकूलन तथा क्षति–नोक्सानीका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको आवश्यकता उठाएका थिए । उनले पर्वत तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना बनाउन र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य कायम गर्न जोड दिएका थिए ।
उनले हिमाली क्षेत्रमा प्रभावकारी पूर्वसूचना प्रणाली, भूउपग्रहमा आधारित अनुगमन, हिमनदीको निगरानी तथा जलवायुजन्य विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषय पनि उठाएका थिए । नेपालले भुटान, किर्गिस्तान र अन्य अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर हिमाली क्षेत्रको उत्थानशीलताका लागि जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमसमेत आयोजना गरेको थियो ।
सम्मेलनका क्रममा मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससहित इथियोपिया र फिनल्यान्डका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उनले अन्ताल्यामा रहेका नेपाली समुदायका प्रतिनिधिसँग पनि अन्तरक्रिया गरेका थिए ।
मन्त्री खनालले कोप–३१ मा नेपालको जलवायु प्राथमिकता र हिमाली मुलुकले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन् । सम्मेलनको अन्तिम साताका बैठक तथा वार्तामा भने कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology