देवदह । वन संरक्षण र सम्वद्र्धन सामुहिक प्रयासबिनाको सम्भव नभएको डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविन विडारीले बताएका छन् । गाउँ वन समन्वय सञ्जाल देवदहको १४ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले वन मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको आधारभूत स्रोत भएको उल्लेख गरे ।
वन नहुँदा मानव जीवन नै संकटमा पर्ने अवस्था आउने भन्दै प्रमुख विडारीले वन संरक्षण, वन डढेलो नियन्त्रण र अतिक्रमण रोक्न सञ्जालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय सञ्जालसँग सहकार्य गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे । दर्ता भएर पनि निष्क्रिय अवस्थामा रहेका सामुदायिक वनलाई सक्रिय बनाउने काममा कार्यालयले पहल गर्ने उनले बताए ।
गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन महासंघका प्रदेश सदस्य टेकबहादुर विक, देवदह–९ का वडा सदस्य डोलराज न्यौपाने, हरियाली सामुदायिक वनका पूर्व अध्यक्ष निलध्वज मल्ल लगायतले वन संरक्षण, समन्वय र स्थानीय सहभागिताको विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष अधिकारीले सञ्जालको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष रुका सापकोटाले आर्थिक प्रतिवेदन सार्वजनिक गरेकी थिइन् ।
छैठौँ अधिवेशनले पुनः खेमनारायण अधिकारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तेजबहादुर कुवर, उपाध्यक्षमा रुका सापकोटा, सचिवमा टेकबहादुर राना, सहसचिवमा रामचन्द्र पाध्य र कोषाध्यक्षमा कमला न्यौपाने चयन भएका छन् । सदस्यहरूमा गोविन्द थापा, सरोज थापा, भरत गुरुङ, दुर्गाबहादुर राना, जीवलाल रेग्मी, चन्द्रबहादुर रसाईली, सम्झना डुवे, केशव घिमिरे, रामविलास यादव, रामबहादुर मल्ल, समरबहादुर जर्घा र वीरबहादुर थापा रहेका छन् ।
कार्यक्रममा सञ्जालका वरिष्ठ उपाध्यक्ष तेजबहादुर कुवरले स्वागत मन्तव्य राखेका थिए भने सचिव टेकबहादुर रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology