देवदह । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले दशौँ देवदह महोत्सवको अनुगमन गरेको छ । कार्यालयको निर्णय अनुसार महोत्सवको अनुगमन गरिएको खाद्य अनुसन्धान अधिकृत ज्योत्स्ना शर्मा अधिकारी जानकारी दिइन् ।
महोत्सवमा रहेका खाद्य पदार्थ विक्री वितरण गर्ने पसल र होटलमा गरिएको अनुगमनमा समग्रमा अन्य मेला महोत्सवमा भन्दा सुधार देखिएको कार्यालयकी खाद्य निरिक्षण अधिकारी सोनिला गौतमले बताइन् । 'मेला महोत्सवमा धेरै समस्या देखिने गरेको थियो, देवदहमा गरिएको महोत्सवमा सुधार भएको पाइयो' खाद्य निरिक्षण अधिकारी गौतम भनिन् ।
मेलाका दुई वटा होटलमा तेलको धेरै पटक प्रयोग गरेको पाइएको र उक्त तेल नष्ट गरिएको अनुगमनमा सहभागी कार्यालयका प्राविधिक अनुप अधिकारीले जानकारी दिए ।
महोत्सवका स्टलहरुमा मिति गुज्रेका समान नभेटिएको तर केही पसलमा हरियो मटरमा कलर राखेर फ्राई गरी प्याकिङ्ग गरिएको पाइएकोले ती वस्तु हटाइएको खाद्य अनुसन्धान अधिकृत ज्योत्स्ना शर्मा अधिकारीको भनाइ छ ।
महोत्सवमा आउने दर्शकले गुणस्तरीय सामान खरिद गर्न पाउने व्यवस्था गर्न आन्तरिक र बाह्य अनुगमनलाई प्रभाकारी बनाइएको मेलाका प्रमुख सल्लाहकार गोविन्द ठडराईले बताए ।
अनुगमनमा मेलाका अनुगमन उपसमितिका दिनानाथ सापकोटा, मूल आयोजक समिति संयोजक गणेश खाती, प्रचारप्रसार संयोजक विष्णु प्रसाद पोखरेल, सचिवालय संयोजक विनिराम सोमई, संस्थाका महासचिव धन बहादुर पुंवर लगायतको उपस्थिति रहेको थियो ।
माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।
स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहने महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology