देवदह । रुपन्देहीको देवदहमा जारी दशौँ देवदह महोत्सवमा लगातार तीन पटकसम्म देवदहकै औद्योगिक प्रतिष्ठान सूर्या ईण्डष्ट्रिजले मुख्य प्रयोजन गरेको छ । महोत्सवको आठौँ र नवौं शृंखलामा मुख्य प्रायोजकको भूमिका निर्वाह गरेको सूर्या दशौँ शृंखलामा पनि मुख्य प्रायोजक बनेर ह्याट्रिक गरेको हो ।
देवदहमा पहिलोपटक महोत्सव संचालन गर्ने उद्योग व्यापार संघ देवदहका संस्थापक अध्यक्ष गोविन्द ठडराईले स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको महोत्सवमा स्थानीयस्तरबाटै राष्ट्रिय पहिचान बनाएका औद्योगिक प्रतिष्ठानले लगातार प्रायोजनको मुख्य जिम्मेवारी लिनु गौरवको विषय भएको बताए । 'अहिले आर्थिक रुपमा सबैतिर समस्या छ, उद्योग-व्यापार सबैतिर संकट नै देखिन्छ ।' ठडराईले भने, 'यस्तो अवस्थामा पनि सूर्या ईण्डष्ट्रिज र उक्त औद्योगिक प्रतिष्ठानका प्रमुख संचालक शिव पराजुली ज्यूले महोत्सवलाई पुर्याउनु भएको योगदान अतुलनीय छ ।'
दशौँ देवदह महोत्सवका संयोजक गणेश कुमार खातीले सूर्याको सहयोगले मेला संचालन गर्न सहज भएको बताए । 'हामीले देवदहको महोत्सवलाई देवदहकै प्रतिष्ठानले प्रायोजन गर्नुपर्छ भन्यौं । हाम्रो अनुरोध उहाँले स्वीकार गर्नु भयो । उहाँले यहाँको औद्योगिक विकासमा पुर्याउनु भएको योगदानको सकारात्मक असर लामो समयसम्म कायम रहिरहनेछ ।'
देवदह नगरपालिकाको वडा नं २ मा मुख्य कार्यालय रहेको सुर्या ईण्डष्ट्रिजले देवदह मात्र नभएर बुटवल प्रदर्शनीलाई समेत प्रायोजन गरेको छ । ईण्डष्ट्रिजका प्रमुख पराजुली उद्योगीकिकरण नै विकासको आधार रहेको बताउँछन् । 'उत्पादन विना कुनैपनि अर्थतन्त्र जीवित रहन सक्दैन, कृषिदेखि औद्योगिक उत्पादन नै दिगो आर्थिक विकासका आधार हुन् ।' पराजुली भन्छन्, 'व्यापारभन्दा झन्झटिलो, अनेकौं मापदण्ड र सूचक पुरा गर्नुपर्ने उद्योग संचालन गर्न सजिलो छैन, फेरी पनि उद्योग विना रोजगार सृजना गर्न र आर्थिक उन्नति गर्न पनि सम्भव छैन । त्यसैले हामीले मेला महोत्सवमा प्रायोजन गरिरहेका छौं, हाम्रो प्रायोजन अन्य साना उद्योग वा उद्योगमा लगानी गर्न चाहनेहरुलाई उत्प्रेरणाको आधार बनोस् भन्ने हामी चाहन्छौं ।'
शिव नेतृत्वको सुर्या ईण्डष्ट्रिजको उत्पादन अहिले ५७ भन्दा बढि जिल्लामा पुगिसकेको छ । आई. एस. ओ ९००१-२०१५ बाट मान्यता प्राप्त सुर्या ईण्डष्ट्रिजले अहिले १० बर्ष ग्यारेन्टीसहित ७ वटा सिरिजमा धारा र बाथ फिटिङ्गका आईटम उत्पादन गर्दै आएको छ ।
सूर्याको धारा तथा बाथ फिटिङ्गका सामानमा १० वर्ष ग्यारेन्टी मात्र छैन, कुनै समस्या आएमा घरमै कम्पनीको प्रतिनिधि पुगेर समस्या समाधान गर्ने व्यवस्थासमेत मिलाइएको छ । 'क्युआर स्क्यान गरेर जहाँबाट पनि समस्या पठाउन सकिन्छ र हामी तुरुन्तै घरमै हाम्रो प्लम्बर टिम पुर्याउँछौं' पराजुली भन्छन् ।
कम्पनीले प्लम्बरको टिमलाई व्यावसायिक तालिम दिने लगायतका कार्यसमेत गर्दै आएको उनको भनाइ छ ।
देवदह नगरमा अहिले शिवको उद्योग अवलोकनको लागि समेत गन्तब्य स्थल बन्न थालेको छ । विभिन्न विद्यालयबाट विद्यार्थी र शिक्षकको टिमले उद्योगको बारेमा जानकारी लिंदा आफुलाई आनन्द आउने शिव बताउँछन् ।
सुर्या ईण्डष्ट्रिजबाट शिवले एकपटक राष्ट्रिय रुपमा परिचित हुने अवसर पनि पाएका छन् । उनी भन्छन्, 'विदेश बसेर फर्किएको म उद्योग स्थापना गरेको ३ बर्षमै राष्ट्रिय रुपमा सम्मानीत हुने अवसर पाएँ, त्यो पल मेरो लागि अविस्मरणीय हो ।' शिव २०७८ सालमा वैदेशिक रोजगारीबाट फर्किएका युवाले गरेको उद्यमशिलता पुरस्कारबाट सम्मानित देशभरका अगुवा यूवा हुन् । उनले सो बापत १ लाख रुपैंया नगद र सम्मानपत्र पाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology