सहिद तिम्रो बलिदानले तानाशाह ढलेको थियो।
चिरेर अन्धकार दासताको साङ्गलो चुडेको थियो।।
जनताले ढुक्क भएर कुरा बोल्न र लेख्न पाए।
कमैया,हलिया दलित र महिलाले इतिहास लेख्न पाए।
बोल्न पाए, लेख्न पाए, सपना आफ्ना बुन्न पाए।
सदियौको दासत्वलाई तोडेर सबै अघि बढ्न पाए।
तर आज, सहिद त्यो उज्यालो यहाँ धमिलिएको छ।
तिम्रो रगतले रोपिएको वृक्ष विषालु भई फैलिएको छ।
शिक्षा आज महँगो भयो, स्वास्थ्य ऋणमा बाँधियो।
ज्ञान किन्न नसक्नेको भविष्य अन्धकारमा धकेलियो।
उपचार गर्न सोर्स चाहिन्छ पहिल्यै रकम माग्छ।
जनताको लागि सिटामोल छैन नेताले बिदेश ताक्छ।
नेता भने विदेश उड्छ, ऐसमा रोग फ्याँक्नलाई।
शहिदको रगतले बनेको सत्ता सकेनन् बचाउनलाई।
सहिद तिमी बोलिदेऊ यो कस्तो आयो व्यवस्था ।
नेताकै चल्यो हालीमुहाली जनताको उस्तै अवस्था ।
उठ शहिदहरु खरानीबाट आगो बनी उठ।
आर्यघाटको शान्ती चिरेर अब शहिदहरु जुट।।
तिम्रो नाम जपेर महल ठड्याउने चोरहरूलाई।
तिम्रो सपना बेचेर सिंहासन चढ्ने जोकरहरूलाई
नाङ्गो पार्न फेरि उठ ।।
जनताको अदालतमा तिनिहरुलाई उभ्याउन उठ।
अधुराछन् तिम्रा सपनाहरु पूरा गर्न फेरि उठ।।
जनताको जीवनमा परिवर्तन गर्ने शहिद बनी उठ।
जनताको अवस्था फेर्नलाई फेरि पनि उठ।।
सहिद तिम्लाई सलाम छ रगतले सिंचियो यो देशलाई
खेर जान दिने छैनौ हामीले तिम्रो रगतलाई
सपनीमा भन है तिम्ले आफ्नो परिवार सबैलाई
अब फेरि बलिदानी गर्न नपरोस है युगौलाई।।।
उठ सहिद फेरि उठ खरानी बाट जुरुक्क उठ।
चिताको राको बालेर अब गाउँ गाउँमा फेरि जुट।।
हटाउनै पर्छ अब दलाल र दादागिरीको हट।
त्यो घाटको निष्पट अध्यारोबाट शहिदहरु फेरि उठ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology