देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रूपन्देही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रज्जवल बोहराले भ्रष्टाचारमुक्त समाज, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
उनले राष्ट्रियता, सनातन हिन्दू धर्म, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई मौलिक पहिचान हस्तान्तरण गर्ने लक्ष्यसहित राजनीतिमा आएको बताएका छन् । जेन–जी पुस्ताले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण, समान अवसर र भविष्यप्रतिको आशाको मुद्दालाई आफ्नो राजनीतिक यात्राको आधार बनाएको उनको भनाइ छ ।
रोजगारी सिर्जना, सीपमूलक शिक्षा र उद्यमशीलता प्रवर्द्धनमार्फत युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने उनले बताए । वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानजनक बनाउने तथा स्थानीय उद्योगमा रोजगारी बढाउने योजना पनि उनले अघि सारेका छन् ।
शिक्षातर्फ सरकारी विद्यालयको भौतिक पूर्वाधार सुधार, गुणस्तर अभिवृद्धि र व्यवहारिक शिक्षामा जोड दिने, लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजना कार्यान्वयन गर्ने तथा रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयलाई क्याम्पसमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य क्षेत्रमा धकधई स्वास्थ्य केन्द्रलाई विशेषज्ञ सेवासहित स्तरोन्नति गर्ने, सबै पालिका समेट्ने गरी एम्बुलेन्स र दमकल व्यवस्था गर्ने तथा स्वास्थ्य बीमा प्रभावकारी बनाउने योजना रहेको उनले बताए ।
कृषितर्फ किसानलाई उचित मूल्य, सिंचाइ, भण्डारण र आधुनिक प्रविधिमा पहुँच पुर्याउने तथा आयातमा निर्भरता घटाउने कार्यक्रम अघि सारेका छन् । पूर्वाधार विकासअन्तर्गत क्षेत्रका सबै पालिका जोड्ने सडक सञ्जाल, स्वच्छ खानेपानी, रोहिणी नदी संरक्षण, मैनिहवामा पक्की पुल निर्माण र देवदहलाई लुम्बिनीसँग जोडेर अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र बनाउने लक्ष्य राखिएको छ ।
युवा, महिला र पछाडि परेका समुदायको निर्णय तहमा सहभागिता सुनिश्चित गर्ने तथा डिजिटल प्रणालीमार्फत सार्वजनिक सेवा प्रवाह पारदर्शी बनाउने उनले उल्लेख गरेका छन् । हरेक वर्ष जनतासमक्ष कामको प्रतिवेदन प्रस्तुत गर्ने पनि उनको प्रतिबद्धता छ ।
प्रमुख प्रतिबद्धता (जस्ताको तस्तै)
१) सुशासन र भ्रष्टाचार नियन्त्रण
२) रोजगारी र अर्थतन्त्र
३) शिक्षा क्षेत्रमा व्यापक सुधार
४) स्वास्थ्य सेवा
५) कृषि र खाद्य सुरक्षा
६) पूर्वाधार विकास
७) युवा, महिला र समावेशीता
८) राष्ट्रियता. संस्कृति र पहिचान
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology