बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’को घरदैलो आज शुक्रवार पनि तिलोत्तमा नगरपालिकाका विभिन्न वस्तीमा जारी छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले तिलोत्तमाको वडा नं ५ का प्रेमनगर, टिकानगर, शान्ति मा.वि. चोक, नयाँमिल लगायतका क्षेत्रमा मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन् ।
मतदातासंगको भेटघाटमा उम्मेदवार पाण्डेले जनताको पक्षमा काम गर्न नसक्नेले निर्वाचनका बेलामा अनेक लोभलालच देखाँउदै घरदैलोमा आउने गरेकाले सचेत रहन आग्रह गरे । उनले आफ्नो अमूल्य मतले पाँच वर्षको लागि भाग्य र भविश्यको फैसला गर्ने भएकाले निकै संयमित र विचार पुर्याएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।
रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विश्वदीपले अहिले हुँदै गरेको निर्वाचन नियमित नभएर जेनजी आन्दोलनले निम्त्याएको विशिष्ट परिस्थतिको निर्वाचन भएकाले उक्त आन्दोलनको मर्म बुझेर मतदानमा सहभागी हुन सबैमा अपिल गरे ।
प्रचारप्रसारमा सहभागी भएका उम्मेदवार र नेता कार्यकर्तालाई मतदाताले विभिन्न जिज्ञासा राख्दै निर्वाचनमा विजयी पश्चात जनताका पीरमर्का नभुल्न अनुरोध गरेका थिए ।
सो क्रममा जनताका जिज्ञासा मेटाउदै उम्मेदवार पाण्डेले आफू जीत हारको जुनसुकै परिणाम आएपनि आगामी दिनमा जनताका समस्या सुल्झाउन सधै लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
घरदैलोका क्रममा जनताको उत्साह, सल्लाह र सुझावले आफ्नो विजयी यात्रा सुनिश्चित हुँदै गएको भन्दै उनले कुनै ऐजेण्डा बिना र आश्वासनका पोका बोकेर आएका उम्मेदवारलाई चिनेर आफ्नो अमूल्य मत प्रयोग गर्न मतदातासंग आग्रह गरे ।
निर्वाचन परिचालन समितिका संयोजक नारायण जी सी ‘निर्मल’ का अनुसार निर्वाचन आयोगको आचारसंहिता भित्र रहेर उम्मेदवारसहितको घरदैलो नियमित हुनेछ ।
उम्मेदवार पाण्डेले रुपन्देही क्षेत्र नं २ का बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बरसम्मका वडामा समय मिलाएर नियमित घरदैलो गर्दै आएका छन् ।
परिचालन समितिका संयोजक जीसीका अनुसार प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहने छ । त्यस क्रममा स्थानीयसंग अन्र्तक्रिया, छलफल गर्दै आफ्नो उम्मेदवारलाई मत दिनुपर्ने कारणबारे जानकारी गराईने संयोजक जीसीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology