देवदह । मुलुकलाई शान्ति र समृद्धिको बाटोमा लैजान नेकपा एमालेको जित अपरिहार्य रहेको नेकपा एमाले क्षेत्र नम्बर १ का उम्मेदवार दधिराम न्यौपानेले बताएका छन् ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देवदह नगरपालिका–५ र ६ मा गरिएको घरदैलो कार्यक्रममा मतदातासँग संवाद गर्दै उनले देशमा शान्ति, सुशासन र समृद्धिका लागि एमालेसँग स्पष्ट योजना रहेको र त्यसको कार्यान्वयनका लागि पार्टीका उम्मेदवार विजयी हुनुपर्नेमा जोड दिए ।
संविधानका केही बुँदा संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले नागरिकको हितलाई केन्द्रमा राखेर संशोधन गर्नुपर्ने बताए । एमालेका केन्द्रीय सदस्यसमेत रहेका न्यौपानेले लुम्बिनी प्रदेश सरकारका पालामा अघि सारिएको स्मार्ट गाउँ अवधारणा पछिल्ला सरकारले बेवास्ता गर्दा कार्यान्वयन हुन नसकेको दाबी गरे ।
उत्पादन वृद्धि गर्न कृषिको आधुनिकीकरण आवश्यक रहेको र त्यसका लागि एमालेसँग दीर्घकालीन योजना रहेको उनको भनाइ थियो । देशलाई विकासको बाटोमा लैजान सबैले हातेमालो गर्नुपर्ने बताउँदै उनले मताधिकारको सही सदुपयोग गर्न आग्रह गरे ।
विगतका कमजोरीलाई आत्मसात् गर्दै नयाँ सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको उल्लेख्य सहभागिता रहेको पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology