सिद्धार्थनगर । नेपालको लागि मारुती सुजुकी ब्रान्डको आधिकारिक वितरक सिजी मोटो कर्प्सले सुजुकी ब्रान्डको विद्युतीय (इभी) कार नेपाल भित्र्याउने तयारी गरेको छ ।
कम्पनीका अनुसार हाल देशभर रहेका २२ शाखामार्फत सवारीसाधन बिक्री–वितरण भइरहेको छ । वार्षिक रूपमा झन्डै दुई हजारभन्दा बढी मारुति सुजुकी ब्रान्डका गाडी नेपाली बजारमा बिक्री हुने गरेका छन् ।
हाल कम्पनीले अल्टो के–१०, वागनआर, सेलेरियो, इको कार्गो भ्यान, फ्रोन्क्स, जिम्नी, स्विफ्ट र ग्रान्ड भिटारा लगायतका मोडेल बिक्री गर्दै आएको छ ।
कम्पनीका डिलर इन्चार्ज आदर्श भण्डारीले नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएकाले सुजुकीको इभी मोडेल पनि छिट्टै बजारमा ल्याउने तयारी गरिएको बताए ।
नेशनल सर्भिस म्यानेजर सरोज खड्काले इभी सवारीका लागि आवश्यक प्राविधिक जनशक्ति तयारी, सेवा केन्द्र स्तरोन्नति र स्पेयर पार्ट्स व्यवस्थापनको काम भइरहेको जानकारी दिए ।
सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति तथा भन्सार र करमा सहुलियत दिँदै आएकाले नेपालमा इभी बजार तीव्र रूपमा विस्तार हुँदै गएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology