काठमाडौं । नेकपा एमालेभित्र बौद्धिक नेताको पहिचान बनाएका नेता घनश्याम भुसालले आगामी निर्वाचनमा एकता कायम नगरे कम्युनिस्ट आन्दोलन सकिने बताएका छन् । एक पत्रीकामा लेख प्रकाशित गर्ने भुसालले कम्युनिस्ट आन्दोलनको रक्षा र विकासका लागि कम्युनिस्ट पार्टीविच एकता हुनुपर्ने बताएका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रविचको एकताको प्रशंङ्ग देखि हालको अवस्थासम्मको व्याख्या गर्दै भुसालले सवैभन्दा सजिलो बाटो कम्युनिस्ट एकताको भएको बताएका हुन् ।
लेखकोको निचोडमा नेता भुसालले यस्तो लेखेका छन् :
"आन्दोलनमा नेताहरूको स्वार्थ, अहंकार, थिति हराएको, मति हराएको, बिग्रिँदै–भत्किँदै गरेको प्रसंगले पाठकलाई के लाग्न सक्छ भने, यो लेखक स्वयंले निराशाको खेती गर्दै छ । वस्तुतः कुरा त्यसो होइन । यहाँ नेताहरूका कर्मको विवरण मात्रै दिन खोजिएको हो । यसको सम्भावनाको पक्ष धेरै छ र त्यो अझ सजिलो छ । सुरुमै भनिएझैं, कम्युनिस्ट पार्टीहरूले अहिलेको निराशा, कुण्ठा, अनिश्चय, आशंकालाई एकै झड्कामा चिर्न सक्छन् । उल्लेखनीय के छ भने, सत्यानाशको बाटो जति गाह्रो, पट्ट्यारलाग्दो र लामो छ, त्योभन्दा सजिलो र छिटो कम्युनिस्ट पार्टीको पुनरुदयको बाटो छ । एकताको पहिलो पाइलामै वामपन्थीहरूको सरकार बन्न सक्छ, स्थानीय तहमा धेरै राम्रो परिणाम आउन सक्छ । अर्को संसदीय निर्वाचनको परिणामलाई पनि करिब–करिब सुनिश्चित गर्न सक्छ ।
यसै पनि कम्युनिस्ट आन्दोलन नेपाली राजनीतिमा मात्रै होइन, बरु धेरै फराकिलो र गहिराइसम्म पुगेको सामाजिक आन्दोलन हो । कम्युनिस्ट पार्टी र यसका अग्रज नेताहरूले हामीलाई त्यो विरासत दिएर गएका छन् । हामी स्थानीय तहको चुनावको मुखमा छौं । कुनै एउटा कम्युनिस्ट पार्टीले कम्युनिस्ट एकताको आवश्यकता र सम्भावना भन्ने विषयलाई बैठकको एजेन्डा बनाएर छलफल सुरु गर्यो भने कम्युनिस्ट एकताले आफ्नो बाटो बनाइहाल्छ । भनिन्छ, जंगलमा बाटो बिराइयो भने सबैभन्दा पहिले जहाँबाट बाटो बिराएको हो, त्यहीँ पुग्नुपर्छ । कम्युनिष्ट पार्टीको विगतका सन्दर्भमा पनि सबैका कमजोरी सुधार्न तयार हुनुपर्छ र वैचारिक/सैद्धान्तिक आधारमा पार्टी एकताका लागि तयार हुनुपर्छ । त्यसलाई स्वीकार गर्नेबित्तिकै समस्या समाधानको राजमार्ग खुलिहाल्छ । पार्टी एकताको कुरा गर्दा नेताले पार्टीबाट कारबाही गर्दैनन् भन्ने मात्रै ग्यारेन्टी हुने हो भने विभाजनमा मालामाल भैरहेको सानो झुन्डबाहेक सबै कम्युनिस्ट एकताको पक्षमा खडा भैहाल्नेछन् । कम्युनिस्ट पार्टीका लाखौं कार्यकर्ता र शुभचिन्तक त्यसको पक्षमा उभिनेछन् ।
अन्यमा, अनेकौं नालायकीका बावजुद आज नेपालका कम्युनिस्टहरूका अगाडि गुमाउन केवल केही नेताको निजी अहंकार छ भने पाउनका लागि कम्युनिस्ट एकता छ, समाजवादी भविष्य छ ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology