पश्चिम नवलपरासी । नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिकास्थित गंगापुरमा रहेको इन्द्रा सुगर एण्ड एग्रो इन्डस्ट्रिज प्रालि अहिले सुनसान छ । उद्योगको मूल गेटमा ताल्चा झुण्डिएको छ । तर त्यस बाहिर आफ्नो पसिनाको मूल्य कुरिरहेका किसान र महिनौँदेखि तलब नपाएका कर्मचारीहरूको अनुहारमा छटपटी प्रष्ट देखिन्छ।
उद्योगका सञ्चालक राकेश अग्रवाल गत वर्षदेखिकै करोडौँ बक्यौता नतिरी सम्पर्कविहीन भएपछि किसानहरु रुल्लटुल्ल बनेका छन् । स्थानीय किसानहरूका अनुसार अग्रवाल हाल भारतमा आरामदायी जीवन बिताइरहेका छन् । यता किसान भने हातमुख जोर्नै धौधौ पर्ने अवस्थामा पुगेका छन् ।
उखु उत्पादक महासंघका केन्द्रिय प्रवक्ता एवंम् लुम्बिनी प्रदेश समितीका संयोजक एवंम् पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले उद्योग संचालक हाल भारतको लखनउमा रहेकाले उद्योग संचालक अग्रवाललाइ नेपाल सरकारले रेड कर्नर नेटिस जारी गरी झिकाउनुपर्ने बताए ।
यादव भन्छन्, ‘हामीले सञ्चालकलाई सम्पर्कमा ल्याउन धेरै प्रयास गर्यौँ, तर अहिलेसम्म सफलता मिलेको छैन । यसले किसानमाथि ठूलो अन्याय भएको छ ।’ समस्याबारे गाउँपालिकाले यस अगाबै स्थानिय प्रशासन देखी संघीय मन्त्रालयसम्म पत्राचार गरिसकेको यादवले बताए ।
उद्योगले किसानको मात्रै करिब ६ करोड रुपैयाँ उखुको भुक्तानी दिन बाँकी छ । त्यस्तै, कर्मचारीहरूको १ करोड भन्दा बढी तलब रोकिएको छ भने विभिन्न बैंकहरूको करिब ४० करोड रुपैयाँ ऋण समेत जोखिममा परेको छ । उद्योगको सम्पत्तिभन्दा ऋणको भार बढी देखिएपछि बैंकले उद्योग परिसरमा आफ्नै सुरक्षा गार्ड खटाएको छ ।
स्थानीय किसानहरूले यो सरासर योजनाबद्ध ठगी भएको आरोप लगाउँछन् । ‘किसानसँग उधारोमा उखु किन्ने, चिनी बेचेर पैसा कुम्ल्याउने र भुक्तानी दिने बेला बेपत्ता हुने ? यो अन्यायको पराकाष्ठा हो ।’ एक किसानले भने । उद्योगको लापरबाहीका कारण किसानहरूले सरकारले दिने अनुदान समेत पाउन सकेका छैनन् । गत वर्ष २ सय १८ जना किसानको विवरण उद्योगले नपठाउँदा ४२ लाख ३३ हजार रुपैयाँ अनुदान रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमै रोकिएको छ ।

भुक्तानी नपाएपछि धेरै किसानहरू कम मूल्यमै क्रसर (भेली) उद्योगमा उखु बेच्न बाध्य छन् । यसरी बिक्री गर्दा सरकारी अनुदान समेत नपाइने हुन्छ । इन्द्रा सुगर बन्द भएपछि कतिपय किसानहरूले सुस्तास्थित बागमती चिनी उद्योगमा उखु लैजाने गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology