देवदह । ज्ञान उत्पादन र शैक्षिक विकास सुदृढ गर्ने उद्देश्यसहित रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पस र डेनमार्कस्थित युनिभर्सिटी कलेज कोपनहेगन बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताले दुवै संस्थाबीच समानता र दिगो साझेदारी विकास गर्ने लक्ष्य राखेको छ । सम्झौता अनुसार विद्यार्थी आदानप्रदान कार्यक्रमलाई मान्यता दिने र सहजीकरण गर्ने, विद्यार्थी–केन्द्रित शिक्षण विधिमा संयुक्त अनुसन्धान तथा विकास गर्ने र प्रविधि बुझाइ क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका छन् ।
त्यस्तै, भविष्यका सहकार्य र पारस्परिक भ्रमणलाई सहयोग पुर्याउन ‘इरास्मस प्लस’ कोष उपयोग गर्ने उल्लेख गरिएको छ । समझदारी पत्र आगामी विशिष्ट परियोजना तथा थप सम्झौताका लागि मूल दस्तावेजको रूपमा रहने जनाइएको छ ।
सम्झौताले तत्काल कुनै आर्थिक दायित्व सिर्जना नगर्ने र आवश्यक बाह्य स्रोतको खोजी गर्ने लक्ष्य राखेको छ । देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख जय किसन अधिकारीले र कोपनहेगन कलेजकी भाइस–चान्सलर एने भ्याङ रासमुसेनले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अन्तिम हस्ताक्षर भएको मितिबाट ५ वर्षसम्म लागू रहनेछ । कुनै एक पक्षले ६ महिनाअघि सूचना दिएर सम्झौता खारेज गर्न सक्ने प्रावधान राखिएको छ ।
सम्झौताको कार्यान्वयन तथा समन्वयका लागि डेनमार्कतर्फ अन्तर्राष्ट्रिय संयोजक सबिन लाम र नेपालतर्फ गुणस्तर सुनिश्चितता तथा प्रत्यायन संयोजक नारायण भण्डारीलाई सम्पर्क व्यक्ति तोकिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology