देवदह । रुपन्देहीको देवदह -७ मा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
यस वर्ष विद्यालयबाट एसईई परीक्षामा सहभागी ७१ जना विद्यार्थीमध्ये १ जनाले ४ जीपीए प्राप्त गरेका छन् भने कुल ६८ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । साथै ४ जीपीए प्राप्त गर्न सफल विद्यार्थी सोयम नेपालीलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको र विद्यालयले पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले सगरमाथा आवासीय माविले गुणस्तरीय र व्यवहारिक शिक्षामार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर काम गर्दै आएको बताए । उत्कृष्ट नतिजा हासिल गर्नु केवल संयोग नभई विद्यालय परिवारको अनुशासन, शिक्षकहरुको अथक मेहनत, अभिभावकको विश्वास र विद्यार्थीहरुको निरन्तर परिश्रमको परिणाम भएको उल्लेख गरे ।
उनले आगामी दिनमा पनि प्रविधिमैत्री, प्रतिस्पर्धी तथा नैतिक शिक्षालाई प्राथमिकतामा राख्दै अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।साथै विद्यार्थीहरुलाई सफलता प्राप्तिपछि पनि अध्ययनप्रति निरन्तर लगाव राख्न, सकारात्मक सोचका साथ अघि बढ्न र समाज तथा राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न आग्रह गरेका थिए ।
प्रमुख अतिथि देवदह नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी शैक्षिक यात्रामा अझ मेहनती, जिम्मेवार र लक्ष्यप्रति केन्द्रित हुन सुझाव दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन प्रेरित गर्ने शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज मरासिनीको अध्यक्षतामा सम्पन्न भएको थियो । सहायक प्राचार्य लेखनाथ काफ्लेले स्वागत मन्तव्य राखेका कार्यक्रमको सञ्चालन सहायक प्राचार्य प्रदीप अधिकारीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology