बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले परिषद सभा गर्ने निर्णय गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यहि जेठ ११ गते सोमबारको दिन संघको सभाहलमा ३२औं परिषद सभा गर्ने निर्णय गरेको हो ।
अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई परिषद सभाका लागि बस्तुगत समितिहरुसंग समन्वय गर्ने जिम्मेवारी प्रदान गरेको छ ।
उद्योग तर्फका बस्तुगत समितिहरुलाई उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य तर्फका बस्तुगत समितिहरुलाई वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईसहित वस्तुगत समिति समन्वय संयोजकहरुलाई प्रतिवेदन तयारी तथा बस्तुगत समितिलाई सक्रिय सहभागिता गराउन आवश्यक कार्य गर्न जिम्मेवारी प्रदान गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
त्यसैगरी बैठकले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान मार्फत प्राप्त व्यवसाय सम्वद्र्धन कार्यक्रम सञ्चालनको लागि प्रशिक्षण कार्यक्रम र बजेटमा छलफल गरि स्वीकृति प्रदान गरिएको छ । उक्त कार्यक्रमको लागि कार्यसमिति सदस्य उमेश अमात्यलाई फोकलप्रसन चयन गरिएको छ ।
संघले रुपन्देहीको सैनामैना नगरपालिका, देवदह नगरपालिका र कञ्चन गाउँपालिकामा सञ्चालनको तयारी गरेको डिजिएम परियोजनाको बारेमा हालसम्म भएका प्रगतिको बारेमा बैठकमा जानकारी गराईएको छ ।
बैठकले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट कार्यकारिणी समितिको सदस्यमा निर्वाचित संघका अध्यक्ष हरिप्रसाद अर्याल तथा निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू सहित नवनिर्वाचित सिंगो कार्यसमितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology