बुटवल । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमै पहिलो पटक ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिने भएको छ । ‘प्राविधिक शिक्षामा जोड, रोजगारीको अवसरमा नयाँ मोड’ भन्ने मूल नारासहित रुपन्देही उद्योग संघले कार्यक्रम आयोजना गर्न लागेको हो ।
रुपन्देही उद्योग संघले बुधबार पत्रकार सम्मेलन गर्दै यही जेठ ८ गते बिहान १० बजेदेखि तिलोत्तमास्थित होटल बोधी भिल्लामा कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो । कार्यक्रम सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको समन्वय तथा ‘विगी तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर दोस्रो चरण)’ को सहयोगमा आयोजना हुन लागेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले हाल उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबीच असन्तुलन देखिएको भन्दै त्यसलाई कम गर्न कार्यक्रम उपयोगी हुने बताए । उनले भने, ‘उद्योग, तालिम प्रदायक संस्था, प्राविधिक शिक्षालय, सरकारी निकाय तथा प्रशिक्षार्थीबीच सहकार्य र समन्वयलाई सुदृढ गर्दै दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मानित रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो’ ।
कार्यक्रम नेपाल सरकार र स्विजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित परियोजनाको सहयोगमा हुन लागेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममार्फत युवालाई सीपमूलक शिक्षातर्फ आकर्षित गर्दै उद्योग क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा इन्स्योर परियोजनाका लुम्बिनी प्रदेश प्रमुख अम्बिका प्रसाद तिमिल्सिनाले सरकारलाई नीतिगत क्षमतामा सहयोग, निजी क्षेत्रलाई दक्ष जनशक्ति उत्पादनमा सहजीकरण तथा युवालाई प्राविधिक सीपमा दक्ष बनाउन परियोजनाले काम गरिरहेको बताए । उनले भने ‘सरकार, निजी क्षेत्र र युवाबीच समन्वय गर्दै सम्मानित रोजगारी सिर्जनाका लागि परियोजनाले सहकार्य गरिरहेको छ ।’
कार्यक्रममा सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ तथा होटल व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीबीच प्रत्यक्ष सीप प्रतिस्पर्धा गराइने भएको छ । उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ को औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत प्रि–डिप्लोमा तहको परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रशिक्षार्थी, ८० प्रतिशतभन्दा बढी नतिजा हासिल गर्ने शिक्षालय तथा बढी प्रशिक्षार्थीलाई रोजगारी उपलब्ध गराउने उद्योगलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीले तयार गरेका उद्यमशीलता चुनौती परियोजनाको प्रदर्शनीसमेत गरिनेछ । साथै प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको वर्तमान अवस्था, चुनौती तथा अवसरबारे विज्ञहरूसँग प्यानल छलफल आयोजना गरिने आयोजकले जनाएको छ ।
प्यानल छलफलमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का प्रतिनिधि, सामाजिक विकास मन्त्रालयका सचिव, रुपन्देही उद्योग संघका अध्यक्ष, पूर्व प्रशिक्षार्थी सञ्जालका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा इन्स्योर परियोजनाका प्रतिनिधिको सहभागिता रहनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology