Logo

२०८३, आश्विन ११गते


images
images

प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक, कुन प्रदेशको अवस्था कस्तो छ ?

प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक, कुन प्रदेशको अवस्था कस्तो छ ?

images
  • प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक, कुन प्रदेशको अवस्था कस्तो छ ?
    images
    images

    काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

    images
    images
    images

    कार्यालयका अनुसार संघीय शासन प्रणाली लागू भएपछि प्रदेशस्तरमा आर्थिक गतिविधिको मापन, आर्थिक असमानता न्यूनीकरण तथा नीति निर्माणलाई प्रभावकारी बनाउन प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्न थालिएको हो । यो कार्य आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरिएको थियो ।

    images
    images
    images

    यस वर्षको प्रारम्भिक अनुमानअनुसार राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.७ प्रतिशत रहनेछ । बागमतीको अर्थतन्त्रको आकार २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यसपछि कोशी प्रदेशको १० खर्ब ४३ अर्ब रुपैयाँ अर्थात् १५.८ प्रतिशत, लुम्बिनी प्रदेशको ९ खर्ब ३७ अर्ब रुपैयाँ अर्थात् १४.२ प्रतिशत, मधेश प्रदेशको ८ खर्ब ६३ अर्ब रुपैयाँ अर्थात् १३.१ प्रतिशत योगदान रहने अनुमान छ । त्यसैगरी, गण्डकी प्रदेशको योगदान ९ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ७ प्रतिशत तथा कर्णाली प्रदेशको ४.२ प्रतिशत रहने अनुमान गरिएको छ ।

    images
    images
    images

    राष्ट्रिय तथ्याङ्क कार्यालयले स्थिर मूल्यका आधारमा आर्थिक वृद्धिदर पनि सार्वजनिक गरेको छ । त्यसअनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा उच्च आर्थिक वृद्धिदर बागमती प्रदेशमा ५.४ प्रतिशत रहनेछ भने गण्डकी प्रदेशमा ५.०१ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा कम आर्थिक वृद्धिदर मधेश प्रदेशमा १.३१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

    प्रदेशगत आर्थिक गतिविधिको विश्लेषण गर्दा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै देखिएको छ । बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा ठूलो रहेको कार्यालयले जनाएको छ ।

    कोशी र मधेश प्रदेशमा व्यापार क्षेत्र दोस्रो ठूलो हिस्सामा रहेको छ । गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र दोस्रो स्थानमा रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शिक्षा क्षेत्र दोस्रो ठूलो योगदानकर्ता बनेको छ ।

    आर्थिक गतिविधिको वृद्धिदरका आधारमा विद्युत् तथा ग्यास क्षेत्र सबैभन्दा तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय स्तरमा यस क्षेत्रको वृद्धिदर २०.९३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि यही क्षेत्रको वृद्धिदर सबैभन्दा उच्च रहनेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वित्तीय तथा बीमा सेवाको वृद्धिदर सबैभन्दा धेरै रहने अनुमान गरिएको छ । यता मधेश प्रदेशको कृषि क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ ।

    प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनतर्फ बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय २६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशको १६५१ अमेरिकी डलर, कोशी प्रदेशको १४१० अमेरिकी डलर, लुम्बिनी प्रदेशको १२०८ अमेरिकी डलर, सुदूरपश्चिम प्रदेशको ११७० अमेरिकी डलर, कर्णाली प्रदेशको ११०८ अमेरिकी डलर तथा मधेश प्रदेशको ९३४ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।

    राष्ट्रिय स्तरमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५१३ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । यस आधारमा बागमती र गण्डकीबाहेक अन्य सबै प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम रहेको देखिएको छ ।

    औद्योगिक वर्गीकरणअनुसारको प्रादेशिक कुल मूल्य अभिवृद्धि तथा वृद्धिदर

    औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी देखिन्छ।आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापारले कोशी तथा मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको देखिन्छ।त्यसैगरी, बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोवार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ। गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन र रक्षाको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ  भने लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा शिक्षाको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ। अर्कोतर्फ, कोशी, गण्डकी, लुम्बिनी  र सुदुरपश्चिम प्रदेशमा प्रशासनिक सहयोगी सेवा; मधेश, वागमती र कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ।

    आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कृषि, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षा वाहेक सबै प्रदेशका अन्य सबै क्रियाकलाप वृद्धिदर धनात्मक रहेको देखिन्छ। आर्थिक वर्ष २०८२/८३ मा औद्योगिक वर्गीकरणअनुसारको कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२०.९३%) रहने प्रारम्भिक अनुमान रहेकोमा कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर सोही क्रियाकलापको रहने र कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तिय तथा विमा सेवाको रहने प्रारम्भिक अनुमान गरिएको छ।   

    आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ भने वागमती, गण्डकी, कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षाको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा र मधेश प्रदेशमा कृषिको वार्षिक वृद्धिदर ऋणत्मक रहने अनुमान छ।

    कोशी प्रदेश

    आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. १० खर्ब ४३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. ९ खर्ब ८२ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा पनि यस प्रदेशले १५.८ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.१३ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा २.७२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्यको (३२.५%) रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक सहयोगी सेवा (०.३%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषिले (३३.१%) योगदान गरी अग्रस्थानमा हुने र प्रशासनिक सहयोगी सेवाको योगदान अन्तिम स्थान (०.३%) मा रहने संशोधित अनुमान गरिएको छ। कोशी प्रदेशमा औद्योगिक वर्गिकरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२३.७६%) र सबैभन्दा थोरै पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनको (०.३९%) हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (८.२९%) र सबैभन्दा थोरै निर्माणको (-०.७०%) रहने संशोधित अनुमान गरिएको छ। 

    मधेश प्रदेश

    आर्थिक वर्ष २०८२/८३ का लागि मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ८ खर्ब ६३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. ८ खर्ब १८ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १३.१ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले १३.२ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर १.३१ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (३४.९७%) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन्‌ (०.१४%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषिको (३५.८७%) योगदान सहित अग्रस्थानमा हुने र खानी तथा उत्खनन्को (०.१४%) मा न्यून रहने संशोधित अनुमान गरिएको छ। मधेश प्रदेशमा ‌औद्योगीक वर्गिकरण अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (१०.९१%) र सबैभन्दा थोरै कृषि  (-१.२६%) को हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (८.७६%) र सबैभन्दा थोरै निर्माण (०.७८%) को रहने संशोधित अनुमान गरिएको छ।  

    बागमती प्रदेश

    आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. २४ खर्ब २३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा  रु. २२ खर्ब ५७ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ३६.४ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर ५.४० प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ५.२९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान थोक तथा खुद्रा व्यापारको (२१.७%) रहने र सबैभन्दा न्यून योगदान पानी आपूर्ति  तथा  फोहोर व्यवस्थापनको (०.३%) रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा थोक तथा खुद्रा व्यापारको (२१.४%) योगदान अग्रस्थानमा हुने र पानी आपूर्ति  तथा फोहोर व्यवस्थापन क्षेत्रको योगदान अन्तिम स्थान (०.३%) मा रहने संशोधित अनुमान गरिएको छ। बागमती प्रदेशमा ‌औद्योगीक वर्गिकरण अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२२.८८%) र सबैभन्दा थोरै सार्वजनिक प्रसाशन तथा रक्षा (०.६१%) को हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (१८.७८%) र सबैभन्दा थोरै खानी तथा उत्खनन् (१.३९%) को रहने संशोधित अनुमान गरिएको छ।

    गण्डकी प्रदेश

    आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ५ खर्ब ९२ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा  रु. ५ खर्ब ५४ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ९.० प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ८.९ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर ५.०१ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ४.९२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (२५.७%) रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक तथा सहयोगी सेवा (०.३%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषि, वन तथा मत्स्य (२६.२%) को योगदान अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवाको योगदान अन्तिम स्थान (०.३%) मा रहने संशोधित अनुमान गरिएको छ। गण्डकी प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२३.९%)  र सबैभन्दा थोरै सार्वजनिक प्रशासन तथा रक्षाको (०.६५%) हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (१२.०२%) र सबैभन्दा थोरै (१.४२%) खानी तथा उत्खनन्‌को रहने संशोधित अनुमान गरिएको छ।

    लुम्बिनी प्रदेश

    आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ९ खर्ब ३६ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. ८ खर्ब ८३ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १४.२ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले १४.३ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर २.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य (२९.८%) को रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक तथा सहयोगी सेवा (०.४%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा पनि कृषि, वन तथा मत्स्यको (३०.१%) योगदान अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवाको योगदान अन्तिम स्थान (०.४%) मा रहने संशोधित अनुमान गरिएको छ। लुम्बिनी प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (९.१८%) र सबैभन्दा थोरै (-०.१९%) सार्वजनिक प्रसाशन तथा रक्षाको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँस (८.३८%) र सबैभन्दा थोरै (१.३५%) निर्माणको रहने संशोधित अनुमान गरिएको छ।

    कर्णाली प्रदेश

    आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. २ खर्ब ७७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. २ खर्ब ६३ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.२ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ४.३ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर २.९४ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ५.२५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (३१.५२%) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन्को (०.१५%) रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा पनि कृषि, वन तथा मत्स्यको (३१.४%) अग्रस्थानमा हुने अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१६%) मा रहने संशोधित अनुमान गरिएको छ। कर्णाली प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै वित्तिय तथा विमा सेवाको (६.५४%) र सबैभन्दा थोरै (०.०५%) सार्वजनिक सेवा तथा रक्षाको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै वित्तिय तथा विमा सेवाको (८.४०%) र सबैभन्दा थोरै (१.२६%) खानि तथा उत्खनन्को रहने संशोधित अनुमान गरिएको छ।

    सुदुरपश्चिम प्रदेश

    आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ४ खर्ब ६३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा  रु. ४ खर्ब ४१ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ७.० प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ७.१ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक  वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ३.२१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (३३.४%) रहने र सबैभन्दा कम प्रशासनिक तथा सहयोगी सेवाको (०.१%) रहने प्रारम्भिक अनुमान रहेको छ।आर्थिक वर्ष २०८१/८२ मा पनि कृषि, वन तथा मत्स्यको (३३.६%) योगदान सहित अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.१%) मा रहने संशोधित अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर सबैभन्दा धेरै वित्तिय तथा विमा सेवाको (७.९८%) र सबैभन्दा कम (-०.१८%) सार्वजनिक सेवा तथा रक्षाको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (७.७१%) र सबैभन्दा कम निर्माण (-२.०४%) को रहने संशोधित अनुमान गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुल ग्राहस्थ उत्पादन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।