बुटवल । स्वयंसेवी रक्तदाताहरुले आँफुहरुले दान गर्ने रगत विरामीलाई निःशुल्क उपलब्ध गराउन सरकारसँग माग गरेका छ । आफुहरुले निशुल्क रुपमा नियमित रक्तदान गर्नेगरेको भएपनि राज्यको नीतिका कारण त्यस्तो रगत विरामीले किन्नुपर्ने बाध्यता रहेको उनीहरुले बताए ।
रक्तदान गरौ, जीवन बचाऔं भन्ने नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको बुटवलमा सम्पन्न १३ औ वार्षिक साधारण सभा तथा दुर्लभ रक्तदाता भेलाका बक्ताहरुले सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न राज्यले आवश्यक नीति तथा बजेट व्यवस्थापन गर्नुपर्ने औंल्याए ।
साधारणसभाको उद्घाटन सत्रमा बोल्दै प्रतिनिधि सभा सदस्य मन्जु भुषालले स्वस्थ्य क्षेत्रमा रहेका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । रुपन्देहीका रक्तदाताहरुबाट भएका कामको सराहना गर्दै उनले कानुनी गाँठो फुकाउन आफुले पहल गर्ने बताईन् ।
कार्यक्रममा संघका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले हाल लिदै आएको रगतको शुल्क महङ्गो भएको भन्दै सबैलाई निशुल्क गर्नेतर्फ संघिय सरकारबाट पहलको खाँचो रहेको उल्लेख गरे । केही पालिकाहरुबाट रगत निशुल्क घोषणा भएको भन्दै सबै जनतालाई समान हुने गरि कार्यान्वयनतर्फ जोड दिनुपर्ने उनले बताए । ‘स्वयंसेवी रुपमा रगत व्यवस्थापनमा लागेका स्वयंसेवी रक्तदाताहरुको संस्थालाई समेत ब्लड बैक सञ्चालनको स्वीकृति दिन अव सरकारले ढिलाई गर्न हुन्न ।’ अध्यक्ष चौहानले भने, ‘राज्यको नीतिमा १०० बेड क्षमताको अस्पताल भएमा मात्र व्लड बैंक सञ्चालन गर्न पाउने छ, के अव रक्तदाताहरुले के अस्पताल खोल्नुपर्ने हो ?’
कार्यक्रममा आम्दा अस्पतालका मेसु डा. बिनोद पराजुली, डा. राजेन्द्र बश्याल, डा. बबिता थापा, नेपाल रक्त संचार केन्द्र बुटवलका संयोजक डा. बेन बहादुर पौडेलले स्वयंसेवी रक्तदाताहरुबाट भएको योगदानको चर्चा गर्दै यसमा सरकारले आवश्यक सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा समाजका उपाध्यक्ष उदय भट्टराई, समाजका महासचिव प्रशन्न श्रेष्ठले आम नागरिकलाई रगतको महत्व बुझाउन र रक्तदान अभियानलाई अघि बढाउने आफुहरु निरन्तर लाग्ने बताए ।
यसैगरि दुर्लभ रक्तदाताको भेलाबाट बिरामीहरुलाई आवश्यक पर्ने रगतको सहज उपलब्धतातर्फ ध्यान दिएर लाग्ने गरि योजना बनाईएको कार्यसमिति सदस्य पवन पौडेलले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology