पाल्पा, तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकामा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले स्थानीय निर्वाचनमा भारी मतान्तरले विजयी हुने दाबी गरेका छन् । गठबन्धनले वैशाख १३ गतेदेखि १८ गतेसम्म गाउँपालिकाका प्रत्येक वडामा सम्पन्न गरेको चुनावी प्रसारप्रसारको सोमबार समीक्षा गरेको हो । उक्त समीक्षात्मक बैठकमा बोल्दै तिनाउमा भारी मतान्तरले विजयी हुने उम्मेदवारहरूले दावी गरेका हुन् ।
बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका पालिका प्रमुखका उम्मेदवार राजेश श्रेष्ठ र नेपाली काँग्रेसका तर्फबाट गठबन्धनका पालिका उपप्रमुख पदका उम्मेदवार लालबहादुर थापाले प्रत्येक वडामा निर्वाचन परिचालन कमिटी गठन भएको र परिचालनसमेत गरिएको बताए । प्रत्येक वडामा चुनाव प्रचारप्रसारको पहिलो चरणको कार्यक्रम सकिँदा फराकिलो मतान्तरले विजयी हुने संकेत देखिएको उनीहरूको भनाइ छ ।
वडा नं. २ का अध्यक्ष पदका उम्मेदवार दिनेश जिसीले स्वस्फूर्त रूपमा कार्यकर्ता, समर्थकहरू सयौँको संख्यामा प्रचारप्रसारको लागि आउने गरेकाले परिचालन गर्नमा समस्या भएको तर गठबन्धनमा रहेका काँग्रेस र माओवादीबीच कार्यशैलीमा कुनै समस्या नरहेको बताए । २०७४ को स्थानीय तह निर्वाचनमा हालका पालिका अध्यक्ष पदका उम्मेदवार राजेश श्रेष्ठले सोही वडाबाट भारी मतान्तरले विजय गरेकाले अहिले पनि गठबन्धनले अत्यधिक मतले जित्ने दाबी जिसीको रहेको छ ।
वडा नं. १ का अध्यक्ष पदका उम्मेदवार हस्तबहादुर रास्कोटी, वडा नं. ३ का चित्रबहादुर थापा, वडा नं. ४ का देवसिंह दर्लामी, वडा नं. ५ का गणेशबहादुर रास्कोटी, वडा नं. ६ का प्रचारप्रसार कमिटी संयोजक पूर्णबहादुर कार्कीलगायत सदस्य पदका उम्मेदवारहरूले पनि आ–आफ्ना वडाका गतिविधिका बारेमा रिपोर्टिङ गरेका थिए ।
समीक्षात्मक बैठकमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका जलस्रोत तथा सिँचाइमन्त्री वीर बहादुर राना, माओवादी केन्द्र लुम्बिनी प्रदेश सचेतक तुलाराम घर्ती, नेकपा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार अमरसिंह प्रधान, नेकपा माओवादी केन्द्र केन्द्रीय निर्वाचन समिति सदस्य चक्रब्युह थापा, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य महेन्द्र पाण्डेय, माओवादी केन्द्र प्रदेश सदस्य पुरन केसी, नेपाली काँग्रेस तिनाउ सभापति प्रेम पाण्डेलगायतले विभिन्न सुझावहरू दिएका थिए ।
बाम लोकतान्त्रिक गठबन्धनले पालिकाभर दोस्रो चरणको घरदैलो र आमसभा कार्यक्रम गर्ने जानकारी दिएको छ । जसअनुसार वैशाख २० गते तिनाउ २ दोभान, २१ गते तिनाउ ३ झुम्सा, २२ गते तिनाउ १ कचल, २३ गते तिनाउ ४ सत्यवती, २४ गते तिनाउ ५ कोलडाँडा, २५ र २६ गते तिनाउ ६ मस्याम र २७ गते तिनाउ १ कचलमा कार्यक्रम गरी प्रचार प्रसार कार्यक्रम समापन गरिने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology