Logo

२०८३, आश्विन ९गते


images
images

ट्रम्पले ओमानलाई किन दिए ध्वस्त पार्ने धम्की ?

ट्रम्पले ओमानलाई किन दिए ध्वस्त पार्ने धम्की ?

images
  • ट्रम्पले ओमानलाई किन दिए ध्वस्त पार्ने धम्की ?
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानलाई आक्रमणको चेतावनी दिएपछि उनले आक्रमणको धम्की दिएको ओमान १५औँ देश बनेको छ ।

    images
    images
    images

    ट्रम्पले ओमानले इरानसँग मिलेर होर्मुज जलडमरूमध्य नियन्त्रण गर्ने प्रयास गरे अमेरिका त्यसलाई ध्वस्त पार्ने धम्की दिएका हुन् । ट्रम्पको कार्यकालमा अमेरिकाले हालसम्म सात देशमाथि सैन्य कारबाही गरिसकेको बताइएको छ । यसमध्ये भेनेजुएलामा अमेरिकी टोली प्रवेश गरेर राष्ट्रपतिलाई नियन्त्रणमा लिएको दाबी समेत गरिएको छ ।

    images
    images
    images

    यसका साथै ट्रम्पले क्यानडा, ग्रीनल्यान्ड, भेनेजुएला र क्युबालाई अमेरिकामा गाभ्ने चेतावनी पनि दिइसकेका छन् । उनले पनामा नहर कब्जा गर्ने धम्कीसमेत दिएका थिए । 

    images
    images
    images

    सन् २०२४ को राष्ट्रपति चुनावताका ट्रम्पले आफूलाई शान्तिप्रिय नेताका रूपमा प्रस्तुत गरेका थिए । चुनावी सभाहरूमा उनले आफ्ना प्रतिद्वन्द्वीहरूलाई युद्ध भड्काउने नेता भन्दै आफू राष्ट्रपति बने विश्वमा शान्ति कायम हुने दाबी गरेका थिए । उनले आफू राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध नै सुरु नहुने दाबी पटक–पटक गरेका थिए । ट्रम्पले आफूलाई शत्रु राष्ट्रसँग संवाद गरेर ठूलो युद्धबिनै सम्झौता गराउन सक्ने नेताका रूपमा चित्रित गरेका थिए ।

    तर राष्ट्रपति बनेपछि परिस्थिति उल्टो देखिएको विश्लेषण गरिएको छ । अमेरिकाले ट्रम्पको कार्यकालमा इरान, इराक, नाइजेरिया, सोमालिया, सिरिया, भेनेजुएला र यमनमा सैन्य कारबाही गरेको उल्लेख गरिएको छ । इरानमाथि अमेरिकाले एक वर्षमै दुई पटक आक्रमण गरेको बताइएको छ । गत वर्ष जुन २४ मा आणविक कार्यक्रमसँग सम्बन्धित तीन स्थानमा हमला गरिएको थियो भने यस वर्ष फेब्रुअरी २८ मा इजरायलसँग मिलेर गरिएको आक्रमणमा सर्वोच्च नेता अयातोल्लाह खामेनेईसहित उच्च अधिकारी मारिएको दाबी गरिएको छ ।

    इराक र सिरियामा इरान समर्थित समूह तथा आतंकवादी संगठनविरुद्ध कारबाही गरिएको जनाइएको छ । सोमालियामा अल–शबाब र नाइजेरियामा बोको हराम तथा इस्लामिक स्टेटविरुद्ध ड्रोन तथा हवाई हमला गरिएको उल्लेख छ । यमनमा हुथी विद्रोहीका अड्डामाथि मिसाइल तथा हवाई हमला गरिएको बताइएको छ भने भेनेजुएलामा राष्ट्रपति नियन्त्रणमा लिनुका साथै करिब ६० जहाजमाथि हमला भएको र त्यसमा १९० नाविक मारिएको दाबी गरिएको छ ।

    विश्लेषकहरूले ट्रम्पको शैलीलाई अमेरिकी पूर्वराष्ट्रपति रिचर्ड निक्सनको 'म्याडम्यान थ्योरी' सँग तुलना गरेका छन् । यस सिद्धान्तअनुसार नेताले आफू जे पनि गर्न सक्छ भन्ने सन्देश दिएर विपक्षीलाई डर पैदा गराउने रणनीति अपनाउछ । यो रणनीति पहिलो पटक निक्सनले सन् १९६० र १९७० को दशकमा भियतनाम युद्धका क्रममा प्रयोग गरेका थिए । उनले सोभियत संघ र उत्तर भियतनामलाई आफू आणविक हमला गर्नेसम्मको निर्णय लिन सक्ने संकेत दिएका थिए । 

    विश्लेषकहरूका अनुसार ट्रम्पको धम्कीले नाटो देशहरूलाई रक्षा बजेट बढाउन दबाब परेको देखिए पनि रुस र इरानमाथि खास प्रभाव नपरेको बताइएको छ । पूर्व बेलायती विदेशमन्त्री विलियम हेगले यस्तो दबाबले इरानलाई आणविक हतियार निर्माणतर्फ अझ तीव्र रूपमा अघि बढ्न प्रेरित गर्न सक्ने बताएका छन् । विशेषज्ञ माइकल डेशका अनुसार इरानले अब गोप्य रूपमा आफ्नो आणविक कार्यक्रम अघि बढाएर अन्ततः आणविक परीक्षणसमेत गर्न सक्ने सम्भावना छ ।

    विश्लेषकहरूले सद्दाम हुसेन र मुअम्मर गद्दाफीजस्ता आणविक हतियारविहीन शासकहरू सत्ताच्युत भएको उदाहरण इरानले नजिकबाट हेरिरहेको बताएका छन् । उत्तर कोरियाका किम जोङ उन भने आणविक हतियारकै कारण सुरक्षित रहेको सन्देश इरानले बुझेको उनीहरूको भनाइ छ ।

    कतिपय विशेषज्ञका अनुसार अमेरिका र इजरायलले इरानका शीर्ष नेतृत्वमाथि दबाब बढाउँदा त्यहाँको शासन कमजोर हुने अपेक्षा गरेका थिए । तर इतिहासले भने त्यसको उल्टो संकेत दिएको उल्लेख गरिएको छ । सन् १९८० मा सद्दाम हुसेनले इरानमाथि आक्रमण गर्दा पनि इस्लामिक गणतन्त्र कमजोर बनाउने उद्देश्य राखिएको थियो । तर त्यसपछि इरानी शासन झन् बलियो बनेको विश्लेषण गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।