काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले आफ्नो विवाह समारोहमा रुसी अर्बपति उमर क्रेमलेभले गरेको खर्च फिर्ता गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार अन्तर्राष्ट्रिय बक्सिङ संघका प्रमुखसमेत रहेका क्रेमलेभले इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्प जुनियरले विवाहको उत्सवमा आफूले खर्च गरेको रकम फिर्ता गरेको बताएका हुन् । यद्यपि उनले रकम फिर्ता गर्नु आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।
ट्रम्प जुनियरले गत मेमा बहामासमा बेटिना एन्डरसनसँग विवाह गरेका थिए । विवाहपछि तीन दिनसम्म चलेको उत्सवको ठूलो हिस्सा क्रेमलेभले बेहोरेका थिए । त्यसमा कार्यक्रम आयोजना गरिएको निजी टापु भाडामा लिएको खर्चसमेत थियो । उक्त समारोहमा लाखौँ अमेरिकी डलर खर्च भएको बताइएको छ ।
क्रेमलेभलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट मानिन्छ । हालै पुटिनले उनलाई ‘अर्डर अफ फ्रेन्डसिप’बाट सम्मानित गरेका थिए । क्रेमलेभले भने ट्रम्प परिवारसँग आफ्नो सम्बन्ध सामान्य मित्रता र खेलप्रतिको साझा रुचिमा आधारित रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्प विवाहमा सहभागी भएका थिएनन् । उनले यसअघि उक्त खर्चको व्यवस्थालाई नियमअनुसार भएको बताउँदै रकम फिर्ता गरिने आफ्नो बुझाइ रहेको बताएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology