बुटवल । बुटवल उपमहानगरमा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईले आफन्त भेट्न गएको बेला पैसा बाँडेको आरोप लगाईएको बताएकी छन् । आजै एक प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईले सामान्य कुरालाई प्रपोगाण्डा बनाईएको प्रती दु:ख व्यक्त गरेकी छन् ।
उनले लेखेकी छन्,- "आज वैशाख २८ गते दिउँसो अन्दाजी ३:०० बजेतिर म माया भट्टराई, मेरो छिमेकी लक्ष्मी भट्टराईसँग बुटवल ११ माझगाउँ निवासी महेन्द्र अर्यालको घरमा गएकी थिएँ । वहाँको श्रीमती लिला अर्याल विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । हालै भारतको नयाँ दिल्लीबाट उपचार गरी फर्कनु भएकी लिला अर्याललाई भेट गर्ने उद्देश्यले हामी सो ठाउँमा गएका थियौं । त्यसै बखत सोही ठाउँमा रहेको र भाडामा लगाएको लक्ष्मी भट्टराईको घरमा पनि गएका थियौं । वहाँसँग भाडा रकम उठाउनुपर्ने भएकोले सो घरमा भाडामा बस्ने रुपा थापासँग पनि भेट गरी वहाकै छिमेकी पार्वतीको घरमा बसेको बखत केही व्यक्तिहरु आई होहल्ला र हुल हुज्जत गरी तं पैसा बाँड्न आएकी होस् भनी नेपाली कांग्रेसका कार्यकर्ताहरुले मलाई घेराउ गरी जवरजस्त प्रहरीलाई बोलाउने काम भयो ।"
उनले आफ्नो उद्देश्य बिरामीलाई भेट्ने भएको तर सँगै गएको साथीले भाडा उठाउने कुरा गरेपछि थोरै समय लागेपनि भेटेर जाउँ भन्ने उद्देश्यले बसेका थियौं उक्त घरमा बसेको बताएकी छन् । सामान्य विषयलाई मानवीय संवेदना समेत नबुझी अनावश्यक प्रपोगन्डा गरिएकोमा उनले दु:ख व्यक्त गरेकी छन् । "मेरो श्रीमान बाबुराम भट्टराई बुटवल उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुनुहुन्छ, के यसको कारणले मलाई बिरामीलाई भेट्ने र आफन्तीसँग बोल्ने छुट पनि हुँदैन ? भन्दै उनले प्रश्न समेत गरेकीछन् । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology