देवदह । देवदह नगरपालिका ५ नं वडा कार्यालयले आगामी वर्षका योजना छनौट प्रक्रिया सुरु गरेको छ । आर्थिक वर्ष २०८३/८४ का लागि वडा स्तरीय विकास योजना छनोट तथा बजेट तर्जुमा प्रक्रियाबारे शनिवार वडा समिति र टोल विकास संस्थाका पदाधिकारीबीच छलफल गरिएको वडाले जनाएको छ ।
वडामा रहेका २१ वटा टोल विकास संस्थाका प्रतिनिधिहरू सहभागी बैठकमा टोलस्तरबाट प्राथमिकता निर्धारण गरी प्राप्त योजनाहरूको समीक्षा गरिएको वडा अध्यक्ष गणेश डुम्रेले बताए ।
वडा अध्यक्ष डुम्रेका अनुसार बैठकमा सहभागीहरूले शिक्षा, सडक, नाला, सिँचाइ तथा कृषि क्षेत्रका योजनालाई बढी प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।
'टोल विकास संस्थाबाट महत्वपूर्ण सुझाव प्राप्त भएका छन् ।' डुम्रेले भने, 'प्राप्त सुझाव र योजनालाई आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गरिनेछ ।'
बजेट सीमित भए पनि जनअपेक्षा र विकासका आवश्यकता उच्च रहेकाले उपलब्ध स्रोतको न्यायोचित बाँडफाँड गर्दै प्राथमिकताका आधारमा सबै टोल र समुदायलाई समेट्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिने वडा कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology