देवदह । ‘स्वस्थ शरीर, स्वस्थ मन, सुखी जीवनको आधार-योग अपनाऔँ, जीवन सुसज्जित बनाऔँ’ भन्ने मूल नाराका साथ रुपन्देहीको देवदहमा १२ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । देवदह नगरपालिका ५ नं. वडा कार्यालयको आयोजना तथा बुद्ध सामुदायिक वन उपभोक्ता समुह, खेमा योगा क्लास, वडा नम्बर ५ का टोल विकास संस्था र जीवन विज्ञान देवदहको सहजीकरणमा दिवस मनाइएको हो ।
देवदह खैरैनी स्थित पानबारी खेलमैदानमा भएको विशेष योग कार्यक्रममा अन्तर्राष्ट्रिय योग गुरु टेकमाया गुरुङ र जीवन विज्ञानका केन्द्रीय सदस्य एवम् योग प्रशिक्षक दुर्गाबहादुर क्षेत्रीले सहभागीहरूलाई विशेष प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा उनीहरूले स्वस्थ जीवनका लागि प्राणायाम, आसन र ध्यानको महत्वबारे प्रयोगात्मक अभ्यास गराए ।
योग कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले पछिल्लो समय मानिसहरूको खानपिन र जीवनशैली अव्यवस्थित हुँदै जाँदा विभिन्न खाले स्वास्थ्य जोखिमहरू बढ्दै गएको प्रति चिन्ता व्यक्त गरिन् । उपप्रमुख गुरुङले भनिन्, ‘स्वास्थ्य शरीर भए मात्र हाम्रा हरेक सपना र लक्ष्य साकार हुन मद्दत पुग्दछ, त्यसैले योगलाई दैनिक जीवनको हिस्सा बनाउन जरुरी छ ।’
कार्यक्रममा बोल्दै वडा अध्यक्ष गणेश डुम्रेले समाज र नगरको समग्र समृद्धिका लागि भौतिक पूर्वाधारको विकास मात्र पर्याप्त नहुने धारणा राखे । उनले भौतिक विकास सङ्गै मानवीय विकास र नागरिकको मानसिक तथा शारीरिक स्वास्थ्य बढी महत्वपूर्ण र दिगो हुने कुरामा जोड दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology