परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा सवारी चालकहरूमाथि गरिएको लागू पदार्थ सेवन (ला.प.से.) परीक्षणमा ३० जनामध्ये ५ जनामा पोजेटिभ देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार बिहान रामग्राम नगरपालिका–५ स्थित बाइपास क्षेत्रमा भैरहवा-परासी सडकखण्डमा विशेष ला.प.से. तथा मा.प.से. चेकजाँच सञ्चालन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ८ बजेदेखि गरिएको चेकजाँचमा ३० वटा सवारी साधनका चालकको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ५ जना चालकमा लागू पदार्थ सेवन गरेको पुष्टि भएको हो ।
पोजेटिभ देखिएका चालकहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
३० चालकको परीक्षण गर्दा १६.६७ प्रतिशतमा लागू पदार्थ सेवन पुष्टि भएको प्रहरी तथ्यांकले देखाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology