बर्दघाट । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ तारेभिरस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बिहान करिब ११ः१५ बजे बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३४६० नम्बरको ट्रक ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते सबैलाई प्रारम्भिक उपचारका लागि चिसापानी अस्पताल लगिएको थियो । घाइतेमध्ये चार जनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको प्रहरीले जनाएको छ ।
रिफर हुनेमा भारतको बैंगलोर बस्ने ६५ वर्षीय जगदिश बिएल, चितवनको कालिका नगरपालिका–३ पदमपुरकी ६५ वर्षीया यनु मगर, रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ अमरपथका ४० वर्षीय रुप गुरुङ र ईभी चालक बुटवल उपमहानगरपालिका–१२ ढावाका ४४ वर्षीय कृष्ण थापा रहेका छन् ।
अन्य घाइतेमा काठमाडौं कपनका ३३ वर्षीय बद्री मगर, काठमाडौं स्वयम्भुका २५ वर्षीय नेत्रलाल नेवा, ईभीका सहचालक ३५ वर्षीय गोविन्द थापा, गुल्मी इस्मा गाउँपालिका–६ का २१ वर्षीय किरण मुखिया, भारतको बैंगलोर कर्नाटकका ६१ वर्षीय नन्जुण्डे गोडा र बुटवल उपमहानगरपालिका–१७ का २८ वर्षीय प्रकाश भट्टराई रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि दुवै सवारीसाधन घटनास्थलमै रहेका छन् भने राजमार्गमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।
ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–११ का ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology