काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको चालु खाता ८० अर्ब ६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब २१ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३७ करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ३५ करोड डलर बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत हस्तान्तरण १७ अर्ब ३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो हस्तान्तरण ८ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २२ अर्ब ८२ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा नेपालको शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोड डलर बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा बढेर ६ अर्ब ३९ करोड डलर बचतमा पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तको १९ अर्ब ५० करोड डलरबाट २६.५ प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा २४ अर्ब ६८ करोड डलर पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८३ जेठ मसान्तमा ३७.९ प्रतिशतले वृद्धि भई ३३ खर्ब ३० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तको २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँबाट ६१.८ प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा ४ खर्ब २५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
२०८३ जेठ मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको १० महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । २०८३ जेठ मसान्तमा कुल विदेशी विनिमय सञ्चिति र कुल गार्हस्थ्य उत्पादन, कुल आयात तथा विस्तृत मुद्रा प्रदायसँगको अनुपात क्रमशः ६१.५ प्रतिशत, १९५.५ प्रतिशत र ४३.७ प्रतिशत रहेको छ । २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology