काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै जितेर प्रधानमन्त्री हुन चुनौती दिएका छन् । शनिबार संसदमा बोल्दै प्रचण्डले केपी शर्मा ओली अहिलेसम्म २ पटक प्रधानमन्त्री भएकोमा २ पटक नै माओेवादीको सहयोगमा प्रधानमन्त्री भएको स्मरण गराउँदै आउने चुनावमा बहुमत ल्याएर एक्लै प्रधानमन्त्री हुन चुनौती दिएका हुन् ।
एक्लै प्रधानमन्त्री भएको जस्तो दम्भ र घमण्ड हटाउन आग्रह गर्दै प्रचण्डले आफूहरुले सहयोग नगरेको भए ओली एकपटक पनि प्रधानमन्त्री हुनै नसक्ने जिकिर गरे ।
‘हाम्रो प्रतिपक्षी दलको नेता जसलाई मैले नै सहयोग गरेर, माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो । एक्लै भएको छु भन्ने ठान्नुभयो भने त्यो भ्रम हटाइदिनुस्, तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन । पहिलो चोटी पनि माओवादी केन्द्रको, तपाईंको भाषामा वैशाखी टेकेर, हुनुभएको हो । दोस्रोपटक हाम्रो पनि भोट लिएर हुनुभएको हो । अब भएर देखाउनुस् त । अबको चुनावबाट प्रधानमन्त्री बनेर देखाउनुस् तपाईंलाई मानिन्छ, तपाईं एमालेको प्रधानमन्त्री हुनुहोला’, प्रचण्डले भने ।
दम्भ र अहंकारले गर्दा झण्डै २ तिहाईको सरकार ढलेको, सात वटै प्रदेशमा सत्ताबाट बाहिरिएको, राष्ट्रियसभा चुनावमा पराजय भोगेको र पालिका चुनावमा पराजित हुँदासमेत ओली नसुध्रिएको प्रचण्डको आरोप छ ।
‘हुँदा खाँदाको दुई तिहाइको सरकार । दीर्घकालीन ढंगले त्यहाँ रहन्छु भनेर बालुवाटारमा तयारी गर्नुभएको थियो, तर असमयमै बालकोट जानुर्याे । आफ्नै सरकार ढलाएर, आफ्नो पार्टी फुटाएर गल्ती गरेँ भनेर महसुस गर्नुभए होला कि भन्ने लागेको थियो । तर उहाँले धम्की र होच्याउने भाषा बोल्न छाड्नुभएको छैन, यसले घाटा त उहाँलाई नै हो’, प्रचण्डले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology