काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को उपाधिका लागि आइतबार राति अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन् । अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा मैदान उत्रँदै छ । यदि उपाधि जित्न सफल भए अर्जेन्टिना इटाली (१९३४ र १९३८) तथा ब्राजिल (१९५८ र १९६२) पछि लगातार दुई संस्करणको विश्वकप जित्ने तेस्रो राष्ट्र बन्नेछ । अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो भने १९३०, १९९० र २०१४ मा उपविजेतामा सीमित भएको थियो ।
स्पेन भने दोस्रो विश्वकप उपाधिको खोजीमा छ । स्पेनले पहिलो तथा हालसम्मको एकमात्र विश्वकप उपाधि सन् २०१० मा जितेको थियो । पछिल्ला वर्षहरूमा उत्कृष्ट लयमा रहेको स्पेनले युरोपेली फुटबलमा आफ्नो प्रभुत्व कायम राख्दै विश्व फुटबलमा पनि प्रभावशाली प्रदर्शन गरिरहेको छ ।
यो फाइनल अर्को अर्थमा पनि विशेष छ । दक्षिण अमेरिकी फुटबलको शक्तिशाली टोली अर्जेन्टिना र युरोपेली फुटबलको प्रतिनिधि स्पेन पहिलो पटक विश्वकपको फाइनलमा आमनेसामने हुन लागेका हुन् । दुवै टोली प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका छन् ।
अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनल खेल्दै छ । जर्मनीले मात्र अर्जेन्टिनाभन्दा बढी, आठ पटक, विश्वकप फाइनल खेलेको छ । यस संस्करणमा अर्जेन्टिनाले सबै खेल जित्दै फाइनलसम्मको यात्रा तय गरेको छ ।
स्पेनले पनि प्रतियोगिताभर बलियो रक्षात्मक प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । प्रतियोगितामा सबैभन्दा कम गोल अवसर दिएको टोलीमध्ये स्पेन अग्रस्थानमा रहेको छ भने उसका खेलाडीहरूले निरन्तर प्रभावशाली प्रदर्शन गरेका छन् ।
विश्वकपमा अर्जेन्टिना र स्पेनबीच यसअघि एकपटक मात्र भेट भएको थियो । सन् १९६६ को समूह चरणको खेलमा अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित गरेको थियो । त्यसयता भएका मैत्रीपूर्ण खेलहरूमा भने दुवै टोलीले एकअर्काविरुद्ध उल्लेखनीय प्रदर्शन गर्दै आएका छन् ।
दुवै टोली इतिहास र नयाँ कीर्तिमान बनाउने लक्ष्यसहित मैदान उत्रने भएकाले विश्व फुटबल समर्थकको ध्यान यस फाइनलतर्फ केन्द्रित भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology