काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) की दक्षिण-दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक तथा महानिर्देशकको कार्यालयकी उपप्रमुख हुआ याङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा नेपालको खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि तथा खाद्य प्रणालीको विकास र दक्षिण-दक्षिण तथा त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन, खाद्य सुरक्षालाई थप सुदृढ गर्न तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि एफएओसँगको सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताएकी थिइन् ।
छलफलका क्रममा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तनअनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना, उच्च मूल्यका कृषि उपजको निर्यात प्रवर्द्धन तथा भौगोलिक सङ्केतसम्बन्धी कानुनी र संस्थागत व्यवस्था सुदृढ गर्ने विषयमा पनि विचार आदान–प्रदान भएको थियो।
निर्देशक हुआ याङले आफूले हालै दक्षिण-दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाको नेतृत्व सम्हालेको उल्लेख गर्दै नेपाललाई प्राथमिकतामा राखेर सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उनले कृषि विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम तथा इटालीको रोमस्थित एफएओ मुख्यालयमा आयोजना हुने कार्यक्रममा नेपालको सहभागिताका लागि निमन्त्रणा समेत दिएकी थिइन् ।
भेटवार्ताको अन्त्यमा नेपाल सरकार र एफएओबीचको साझेदारीलाई थप सुदृढ बनाउँदै दिगो, उत्थानशील र समावेशी कृषि तथा खाद्य प्रणाली विकासका लागि सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology