Logo

२०८३, श्रावण ३०गते


images
images

यात्रा डायरी

देवदहदेखि स्याङ्जासम्म : प्रकृति, पर्यटन र स्थानीय विकासका असल अभ्यासको खोजी

देवदहदेखि स्याङ्जासम्म : प्रकृति, पर्यटन र स्थानीय विकासका असल अभ्यासको खोजी

images
  • देवदहदेखि स्याङ्जासम्म : प्रकृति, पर्यटन र स्थानीय विकासका असल अभ्यासको खोजी
    images
    images

    बिहानको करिब ६ बजेको समय । देवदह अझै बिहानको शान्त वातावरणमा थियो । तर हाम्रो टोली भने स्याङ्जातर्फको अवलोकन भ्रमणका लागि यात्रामा निस्किसकेको थियो ।

    images
    images
    images

    सेतोमसी मिडिया नेटवर्कको आयोजनामा भएको अवलोकन भ्रमणमा हामी ९ जनाको टोली सहभागी थियौँ । टोलीमा मसँगै सेतोमसी मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रमोद खनाल, सम्पादक विष्णु प्रसाद पोखरेल, देवदह नगरपालिकाका प्रवक्ता तथा सेतोमसीका लेखक गणेश डुम्रे, सेतोमसीका स्तम्भकार निर्मल ढुंगाना, डेस्क सम्पादक टंक सुनार, ग्राफिक्स डिजाइनर प्रदीप तिवारी, मल्टिमिडिया पर्सन निश्चल अर्याल र चालक राजु गैरे हुनुहुन्थ्यो ।

    images
    images
    images

    हाम्रो यात्रा केवल घुमघामका लागि थिएन । स्थानीय तहले गरेका असल अभ्यास, पर्यटनका सम्भावना, धार्मिक तथा प्राकृतिक सम्पदाको अवस्था र विकासका नयाँ अभ्यासहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने उद्देश्य पनि यात्रासँग जोडिएको थियो ।

    images
    images
    images

    सिद्धबाबाको दर्शनसँगै सुरु भएको यात्रा

    देवदहबाट करिब ६ बजे प्रस्थान गरे पनि करिब ६:३० बजेतिर हामी सिद्धबाबा मन्दिर पुग्यौँ । सिद्धबाबाको दर्शन गरेपछि हाम्रो स्याङ्जा यात्रा औपचारिक रूपमा अगाडि बढ्यो ।

    पाल्पाको प्रसिद्ध जोरधारामा पुगेर चिया–नास्ता गर्‍यौँ । बिहानको चिसो मौसम, बाटो वरिपरिका हरियाली डाँडापाखा र पहाडी भूगोलले यात्राको सुरुवातलाई नै रमाइलो बनाइरहेको थियो ।

    _setomasi siddhababa  (2).jpg

    हामी बुटवल–स्याङ्जा सडकखण्ड हुँदै अगाडि बढिरहेका थियौँ । बाटोमा देखिएका हरियाली, पहाडी बस्ती, खोलानाला र घुम्तीहरूलाई कहिले आँखाले नियाल्यौँ त कहिले क्यामेरामा कैद गर्‍यौँ ।

    यात्राका क्रममा हामीले पहिले योजना नबनाएको एउटा ठाउँमा जाने अवसर पनि मिल्यो—उत्तरबाहिनी ।

    उत्तरबाहिनी : जहाँ कालीगण्डकी उत्तरतर्फ बग्छिन्

    गणेश डुम्रे सरले उत्तरबाहिनी क्षेत्रका गुरु चैतन्य कृष्णजीसँग सम्पर्क गरेपछि हाम्रो यात्रा केही समयका लागि उत्तरबाहिनीतर्फ मोडियो ।

    मुख्य सडकबाट करिब १५ मिनेटको ओरालो यात्रा गर्दै हामी झोलुङ्गे पुल हुँदै नदीपारि पुग्यौँ । त्यसपछि कालीगण्डकीको तटमा रहेको उत्तरबाहिनी क्षेत्रमा पुग्यौँ ।

    स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका क्षेत्रको संगम आसपास रहेको उत्तरबाहिनी धार्मिक तथा आध्यात्मिक दृष्टिले विशेष महत्व बोकेको क्षेत्र हो । यहाँ कालीगण्डकी नदी दक्षिणबाट उत्तरतर्फ बग्ने भएकाले यसलाई ‘उत्तरबाहिनी’ भनिन्छ । सामान्यतः नदी दक्षिणतर्फ बग्ने भए पनि उत्तरतर्फ बग्ने कालीगण्डकीको यो दृश्य आफैँमा दुर्लभ मानिन्छ ।

    Koseli Event-501.jpg (1).webp

    कालीगण्डकी नदी शालिग्रामका कारण पनि धार्मिक रूपमा महत्वपूर्ण मानिन्छ । उत्तरबाहिनी क्षेत्रमा धार्मिक संरचना, गुरुकुल, योग–ध्यान तथा प्राकृतिक उपचारसँग सम्बन्धित गतिविधि विकास गर्ने प्रयास हुँदै रहेछ ।

    हामी त्यहाँ पुग्दा हरियाली वातावरण, नदीको कलकल आवाज र शान्त आध्यात्मिक वातावरणले मनलाई नै आनन्दित बनायो ।

    त्यहाँको आवासीय शिक्षासँग सम्बन्धित क्षेत्र अवलोकन गर्दै हामी पाहुना बस्ने कक्षमा पुग्यौँ । गुरुहरूसँग परिचय भयो, उहाँहरूका गतिविधिबारे बुझ्ने अवसर मिल्यो ।

    त्यही क्रममा देवदहमै बसोबास गर्दै आउनुभएका गुरु लक्ष्मीकान्त पाण्डेलाई त्यहाँ देख्दा हामी झनै खुसी भयौँ । आफ्नै ठाउँको मानिसलाई यति टाढाको धार्मिक तथा शैक्षिक वातावरणमा भेट्न पाउनु हाम्रो लागि यात्राको अर्को विशेष क्षण बन्यो ।

    उत्तरबाहिनीमा स्नान तथा भोजनपछि केही समय त्यहाँका गतिविधि र संरचनाबारे जानकारी लिएर हामी फेरि आफ्नो यात्रामा फर्कियौँ ।

    जिरो, गल्याङ हुँदै वालिङतर्फ

    उत्तरबाहिनीबाट फर्किएपछि जिरो, गल्याङ हुँदै हामी वालिङतर्फ लाग्यौँ ।

    पहाडी सडकको यात्रा आफैँमा एउटा छुट्टै अनुभव थियो । सडकका घुम्ती, हरियाली वनजंगल, खोलानाला, पहाडका काखमा बसेका बस्ती र टाढाटाढासम्म देखिने डाँडाकाँडाले यात्रालाई अझ सुन्दर बनाइरहेका थिए ।

    कतिपय दृश्य यस्ता थिए, जहाँ गाडी रोकौँ र फोटो खिचौँ जस्तो लाग्थ्यो । कहिले क्यामेरा निकालिन्थ्यो, कहिले मोबाइल । यात्रा अगाडि बढिरहेको थियो, तर हाम्रो क्यामेरामा भने स्याङ्जाका दृश्यहरू एकपछि अर्को गर्दै जम्मा हुँदै थिए ।

    वालिङ : विकासका अभ्यास हेर्दै सिक्ने अवसर

    अन्ततः हाम्रो टोली वालिङ नगरपालिका कार्यालय पुग्यो ।

    हामी पुग्दा नगर प्रमुखदेखि प्रमुख प्रशासकीय अधिकृतलगायतका पदाधिकारी तथा कर्मचारीहरू हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो । हाम्रो टोलीलाई स्वागत गरियो । चियासँगै वालिङ नगरपालिकाले गरेका असल अभ्यास, स्थानीय विकासका काम र पर्यटकीय सम्भावनाबारे जानकारी लिने अवसर मिल्यो ।

    waling.png

    वालिङलाई पछिल्लो समय 'पिंक सिटी’का रूपमा पनि चिनाउने अभियान अघि बढाइएको छ । नगरका अधिकांश घर तथा संरचनामा गुलाबी रङको प्रयोगमार्फत छुट्टै शहरी पहिचान निर्माण गर्ने प्रयास गरिएको छ ।

    तर हाम्रो लागि वालिङको सबैभन्दा रोचक पक्षमध्ये एउटा थियो—फोहोरमैला व्यवस्थापन ।

    फोहोर व्यवस्थापन केन्द्र पुग्दा लागेको अचम्म

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको टोलीसँगै हामी फोहोरमैला व्यवस्थापन केन्द्रतर्फ लाग्यौँ ।

    हामीले सोचेजस्तो फोहोरको थुप्रो, दुर्गन्ध र अव्यवस्थित डम्पिङ साइट त्यहाँ देखिएन । प्रवेशद्वारदेखि नै व्यवस्थित र हरियाली वातावरण देखिन्थ्यो । पहिलोपटक पुग्ने व्यक्तिले यो फोहोर व्यवस्थापन गर्ने ठाउँ हो भनेर सजिलै अनुमान गर्न नसक्ने अवस्था थियो ।

    हामी केही समय त झुक्कियौँ पनि— 'फोहोर व्यवस्थापन गर्ने ठाउँमा यति सफा र व्यवस्थित वातावरण कसरी ?’

    वालिङले लामो समयदेखि फोहोरमैला व्यवस्थापनलाई नगर विकासको महत्वपूर्ण विषयका रूपमा अघि बढाउँदै आएको देखियो । यहाँ फोहोरलाई व्यवस्थापन गर्ने, वर्गीकरण गर्ने र त्यसबाट पुनः उपयोग तथा आम्दानीको सम्भावना खोज्ने अभ्यास गरिएको छ । विगतमा नै वालिङलाई फोहोर व्यवस्थापनमा अग्रणी स्थानीय तहका रूपमा उदाहरण दिने गरिएको छ ।

    नगरपालिकाका नीति तथा कार्यक्रममा पनि सरसफाइ केन्द्रमा कुहिने फोहोरबाट ब्ल्याक सोल्जर फ्लाइ उत्पादन गरी त्यसलाई कुखुरा तथा बङ्गुरको दानाका रूपमा प्रयोग गर्ने र फोहोरमैला व्यवस्थापनमा साझेदारीलाई निरन्तरता दिने विषय समेटिएको देखिन्छ ।

    हामीले प्रत्यक्ष रूपमा देख्दा एउटा कुरा स्पष्ट भयो—फोहोर व्यवस्थापन भनेको फोहोरलाई एउटा ठाउँमा लगेर थुपार्नु मात्र होइन रहेछ । सही व्यवस्थापन, वर्गीकरण, पुनःप्रयोग र वातावरणीय सौन्दर्यलाई सँगसँगै अघि बढाउन सकिने रहेछ ।

    हामीलाई अझ रोचक लागेको कुरा के थियो भने उक्त क्षेत्र वरिपरिको वातावरण पार्कजस्तो देखिन्थ्यो । फोहोर व्यवस्थापन केन्द्र नै पिकनिक तथा अवलोकनको ठाउँ बन्न सक्नु वास्तवमै सिक्नलायक अभ्यास लाग्यो ।

    स्थानीय तहले चाहने हो भने फोहोरलाई समस्या होइन, व्यवस्थापन गर्न सकिने स्रोतका रूपमा लिन सकिन्छ भन्ने सन्देश वालिङको यो अभ्यासले दिएको अनुभूति भयो ।

    छाङ्छाङ्दीको दर्शन

    वालिङको अवलोकनपछि हाम्रो यात्रा फेरि अगाडि बढ्यो । यात्राकै क्रममा हामीले भीरकोट क्षेत्रमा रहेको प्रसिद्ध छाङ्छाङ्दी छायाक्षेत्र मन्दिरमा प्रवेश गर्ने अवसर पायौँ ।

    मन्दिरको धार्मिक तथा प्राकृतिक वातावरणले यात्राको थकान केही समयका लागि बिर्साइदियो । शान्त वातावरणमा मन्दिर दर्शन गर्‍यौँ र केही समय त्यहाँ बितायौँ ।

    xyanxyandi.png

    भीरकोट नगरपालिकाले पनि छाङ्छाङ्दी छायाक्षेत्र, स्वरेक मैदान र गडहरे गुफालगायतका धार्मिक तथा पर्यटकीय स्थललाई पर्यटन विकासका सम्भावनाका रूपमा अघि बढाउँदै आएको छ ।

     

    भीरकोट : पहाडबीचको व्यवस्थित नगर

    त्यसपछि हामी पहाडैपहाडको बीचमा रहेको भीरकोट नगरपालिकातर्फ अगाडि बढ्यौँ ।

    नगर प्रवेश गरेसँगै पहाडी भूगोलमा पनि स्थानीय तहले गर्न सक्ने व्यवस्थापन र सौन्दर्यीकरणको राम्रो उदाहरण देख्न पाइयो । हामीलाई जानकारी दिन भीरकोट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भीम गुरुङ पनि सँगै हुनुहुन्थ्यो ।

    नगरपालिकाका जनप्रतिनिधि तथा सम्बन्धित टोलीसँग बसेर त्यहाँ भइरहेका काम, विकासका अभ्यास र पर्यटकीय सम्भावनाबारे जानकारी लियौँ ।

    bhirakot setomasi.jpeg

    भीरकोट नगरपालिका स्याङ्जाको पहाडी भूगोलमा अवस्थित नगरपालिका हो । नगरपालिकाको सदरमुकाम बयरघारी करिब ७३० मिटर उचाइमा रहेको छ भने वडा नं. ९ र वडा नं. ८ का उच्च भूभाग करिब १,७३५ मिटर उचाइसम्म पुग्छन् ।

    पहाडमा रहेको स्थानीय तहले पनि आफ्नो भूगोलअनुसार विकास, पर्यटन र वातावरणलाई जोडेर काम गर्न सक्ने रहेछ भन्ने अनुभव हामीले त्यहाँबाट पायौँ ।

    मेरो जन्मभूमि पुग्दाको छुट्टै अनुभूति

    यो यात्रामा मेरो लागि भीरकोटसँग जोडिएको एउटा व्यक्तिगत भावनात्मक पक्ष पनि थियो ।

    हाम्रो टोलीमा यात्रामा सहभागी ९ जनामध्ये ४ जना पाल्पा, ४ जना स्याङ्जा र एक जना तनहुँबाट रूपन्देही झरेका बासिन्दा हुनुहुन्थ्यो । अनि म स्वयं भीरकोट नगरपालिका वडा नं. ९ मा पर्ने साउन्ने गाउँमा जन्मिएको हुँ ।

    तर म करिब एक–डेढ वर्षको उमेरमै देवदह झरेकाले आफ्नो जन्मभूमिको भूगोल र इतिहासबारे धेरै जानकारी थिएन ।

    त्यसैले आफ्नै जन्मस्थान पुग्दा मनमा एउटा छुट्टै उत्साह थियो ।

    swarek.jpeg

    नातामा मामा पर्नुहुने गणेश डुम्रे सरले मेरो जन्मभूमि र वरपरका ठाउँबारे जानकारी दिँदा झनै रोचक लाग्यो । पाखुरे मामा घर पर्ने क्षेत्रबारे भने मलाई केही जानकारी थियो । अघिल्लो वर्ष चैतमा सात दिन त्यहाँ बसेको अनुभव पनि थियो ।

    आफू जन्मिएको ठाउँमा उभिएर वरिपरिका डाँडापाखा हेर्दा एउटा प्रश्न मनमा आयो—'यति सुन्दर ठाउँमा जन्मिएको रहेछु, तर आफ्नो जन्मभूमिबारे यति धेरै कुरा किन थाहा रहेनछ ?’

    सायद यात्राको सबैभन्दा व्यक्तिगत र भावनात्मक क्षण यही थियो ।

    स्वरेक मैदान : बादलमाथिको रात

    भीरकोट नगरपालिकाका विभिन्न गतिविधि अवलोकन गरेपछि हामी स्वरेक मैदानतर्फ लाग्यौँ ।

    करिब एक घण्टाको यात्रापछि हामी स्वरेक मैदान पुग्यौँ । बेलुका करिब ७ बजिसकेको थियो । हामीले गाडीमै झोला राखेर लाइट बाल्दै स्वरेक मैदानको माथिल्लो भागतर्फ जाने निर्णय गर्‍यौँ ।

    गर्मी हुने ठाउँ बुटवलबाट पुगेका हामीलाई त्यहाँको चिसो हावाले नै फरक अनुभूति दियो ।

    स्वरेक मैदान भीरकोट नगरपालिका वडा नं. ९ मा पर्ने प्रसिद्ध पर्यटकीय क्षेत्र हो । समुद्री सतहबाट करिब १,६०० मिटर उचाइमा रहेको यो क्षेत्र प्याराग्लाइडिङका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छ । यहाँ अन्तर्राष्ट्रियस्तरका प्याराग्लाइडिङ प्रतियोगितासमेत आयोजना भइसकेका छन् ।

    हामीलाई पनि त्यहाँ पुगेर केही समय टेन्टमै बसौँ जस्तो लागेको थियो । तर बुटवलको गर्मीबाट अचानक चिसो पहाडी वातावरणमा पुगेका कारण स्वास्थ्यमा असर पर्न सक्छ भन्ने सोचेर केही समय मात्रै बसेर होटलतर्फ लाग्यौँ ।

    हामी बस्ने होटलमा पुगेपछि दिनभरका यात्राका सामान कोठामा राख्यौँ । हातमुख धोएपछि स्थानीय तथा रैथाने परिकारको स्वाद लियौँ । त्यसपछि केही समय सबैजना मिलेर नाचगान गर्दै रमायौँ ।

    यात्राको थकान, नयाँ ठाउँको उत्साह र साथीहरूको साथले त्यो रातलाई अझ विशेष बनाइदियो ।

    स्वरेकको बिहान : बादलसँगै योग र ध्यान

    भोलिपल्ट बिहान करिब ४:३० बजे नै उठ्यौँ ।

    हातमुख धोइवरी करिब ५:३० बजेतिर स्वरेकको माथिल्लो डाँडातर्फ बिस्तारै उक्लियौँ ।

    बिहानको शीतल हावा, शान्त वातावरण र वरिपरि फैलिएको प्राकृतिक सौन्दर्यबीच केही समय योग तथा ध्यानमा बस्यौँ ।

    त्यहाँको अनुभव शब्दमा भन्दा अनुभूतिमा बढी सुन्दर थियो ।

    बिस्तारै उज्यालो हुँदै गयो । डाँडामाथिबाट तलतिर हेर्दा बादलले गाउँबस्तीलाई ढाकेको दृश्य निकै मनमोहक देखिन्थ्यो । हिमाल हेर्ने चाहना थियो, तर मौसम पूर्ण रूपमा खुलेन। हिमाल नदेखिए पनि बादल डाँडापाखामाथि नाचिरहेको दृश्यले हाम्रो मन जित्यो ।

    स्वरेक केवल प्याराग्लाइडिङका लागि मात्र होइन, प्रकृति, दृश्यावलोकन, ध्यान र शान्त वातावरणका लागि पनि सम्भावना बोकेको ठाउँ रहेछ भन्ने अनुभव भयो ।

    गडहरे गुफा : अँध्यारोभित्र लुकेको प्राकृतिक संसार

    स्वरेकबाट फर्किएर चिया–नास्ता गरेपछि हामी वडा अध्यक्ष भीम गुरुङसँगै गडहरे गुफातर्फ लाग्यौँ ।

    भीरकोट नगरपालिका–९ ओकादी क्षेत्रमा रहेको गडहरे गुफा पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । स्थानीयस्तरमा लामो समयदेखि संरक्षण हुँदै आएको यो गुफा प्राकृतिक रूपमा बनेका विभिन्न आकृतिका चट्टान र संरचनाका कारण आकर्षक छ ।

    गुफाको प्रवेशद्वारबाट भित्र छिर्दा सुरुमा खासै केही देखिएन । तर जति भित्र पस्दै गयौँ, त्यति नै प्राकृतिक रूपमा बनेका ढुङ्गाका विभिन्न आकृति देखिन थाले ।

    कुनै ठाउँमा शिव–पार्वतीको आकृति जस्तो, कतै धरहराजस्तो त कतै अन्य धार्मिक तथा प्राकृतिक आकृति जस्तो देखिने संरचना थिए ।

    वडा अध्यक्ष भीम गुरुङका अनुसार गुफाको सम्भावनाबारे २०७६ सालतिर प्रेस मिटमार्फत जानकारी गराएर अध्ययनको प्रक्रिया अगाडि बढाइएको थियो । त्रिभुवन विश्वविद्यालयका भूगोल विषयका शिक्षक तथा विद्यार्थीको टोलीले गुफाको अध्ययन र लम्बाइ मापनसमेत गरेको थियो । उहाँका अनुसार अध्ययन टोली करिब ६६७ मिटरभित्रसम्म पुगेको थियो ।

    हामीसँग समय सीमित भएकाले करिब २०० मिटर आसपाससम्म मात्र पुगेर फर्कने योजना बनायौँ।

    पहिलोपटक हामी केही साथी मोबाइलको लाइटको सहायताले भित्र पसेका थियौँ । तर बाहिर निस्किएपछि झनै कौतूहल बढ्यो—'भित्र अझै के होला?’

    अन्ततः म, गणेश सर, स्तम्भकार निर्मल सर, वडा अध्यक्ष भीम गुरुङ र चालक राजु गैरे पुनः भित्र जाने भयौँ ।

    हामीसँग रहेको करिब ४० वाटको भिडियो लाइट र दुईवटा ब्याट्रीको सहायताले अँध्यारो गुफाभित्र प्रवेश गर्‍यौँ ।

    करिब डेढ घण्टाको यो अनुभव निकै रोमाञ्चक रह्यो ।

    गुफाभित्र पर्याप्त प्रकाशको व्यवस्था नहुँदा प्राकृतिक सौन्दर्य पूर्ण रूपमा अवलोकन गर्न कठिन हुने देखियो । हामीले यही विषय वडा अध्यक्ष भीम गुरुङसमक्ष राख्यौँ ।

    उहाँले गुफाभित्रको अँध्यारो हटाउन आगामी एक वर्षभित्र लाइट जडान गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै गुफालाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार र योजनाबद्ध काम अगाडि बढाउने जानकारी पनि दिनुभयो ।

    गडहरे गुफाबाट बाहिर निस्किँदा हामी सबैको एउटै निष्कर्ष थियो—प्रकृतिले दिएको यस्तो सम्पदालाई संरक्षण गर्दै व्यवस्थित रूपमा पर्यटकीय गन्तव्य बनाउन सके यसले भीरकोटको पर्यटनमा ठूलो योगदान पुर्‍याउन सक्छ ।

     

    फेदीखोला : असल अभ्यास बुझ्ने अर्को गन्तव्य

    गडहरे गुफाबाट करिब डेढ घण्टाको यात्रापछि हामी फेदीखोला गाउँपालिकातर्फ लाग्यौँ ।

    फेदीखोला पुग्नासाथ यात्रालाई सहज बनाउन एक जना स्थानीयवासी हामीलाई लिन आउनुभयो । कार्यालय पुग्नुअघि नै खाना खायौँ र त्यसपछि गाउँपालिकाको कार्यालय पुग्यौँ ।

    गाउँपालिकाका अध्यक्षज्यूसँग भेटघाट गरी केही समय त्यहाँका विकास गतिविधि, असल अभ्यास तथा स्थानीय तहले गरिरहेका कामबारे जानकारी लियौँ ।

    fedikhola.png

    फेदीखोला गाउँपालिकाको कार्यसम्पादन पनि हाम्रो अध्ययनको एउटा महत्वपूर्ण विषय बन्यो । उपलब्ध कार्यसम्पादन मूल्याङ्कनका विवरणअनुसार फेदीखोला गाउँपालिका गण्डकी प्रदेशका गाउँपालिकामध्ये ७७.९ अंकसहित तेस्रो स्थानमा रहेको थियो । सोही मूल्याङ्कनमा स्याङ्जाका कालीगण्डकी र आँधीखोला गाउँपालिका क्रमशः पहिलो र दोस्रो स्थानमा थिए ।

    त्यसपछि हामीले सिद्धार्थ माध्यमिक विद्यालयको अवलोकन गर्ने अवसर पायौँ ।

    विद्यालयको वातावरण, संरचना र शैक्षिक गतिविधि अवलोकन गर्दा स्थानीय तहले शिक्षा क्षेत्रमा गरेका प्रयासबारे प्रत्यक्ष बुझ्ने अवसर मिल्यो ।

    एउटा अवलोकन भ्रमणमा केवल कार्यालय हेरेर फर्किनुभन्दा विद्यालय, स्थानीय उत्पादन, कृषि, पर्यटन र जनताको दैनिक जीवनसँग जोडिएका गतिविधि बुझ्न सकिँदा भ्रमण अझ अर्थपूर्ण हुँदो रहेछ भन्ने महसुस भयो ।

    स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि र उद्यम विकासजस्ता कार्यमा कसरी काम गर्नुपर्छ भनेर सिक्नको लागि फेदीखोला उत्कृष्ट सिकाई गन्तव्य हो  ।

    फर्कने क्रममा स्याङ्जाको स्वाद : कटहर

    फेदीखोलाबाट विदा भएर हामी घर फर्कने यात्रामा लाग्यौँ ।

    स्याङ्जाको सडकछेउका चौपारीमा ठाउँ–ठाउँमा कटहर बिक्रीका लागि राखिएको देखियो । स्थानीय उत्पादन र ग्रामीण बजारको त्यो दृश्यले हाम्रो ध्यान तान्यो ।

    फर्कने क्रममा हामीले पनि कटहर खायौँ ।

    यात्रा अब देवदहतर्फ फर्किंदै थियो । तर स्याङ्जाले हामीलाई अझै एउटा गन्तव्य बाँकी राखेको थियो ।

     

    अर्जुनचौपारीको नवग्रह मन्दिर : यात्राको अन्तिम धार्मिक गन्तव्य

    बाटोमा धेरै ठाउँमा नवग्रह मन्दिरको चर्चा सुनेपछि हामीले आफ्नो यात्राको बाटो केही मोड्ने निर्णय गर्‍यौँ ।

    करिब ९ किलोमिटरको उकालो यात्रा गरेपछि हामी अर्जुनचौपारी गाउँपालिका स्थित नवग्रह मन्दिर पुग्यौँ ।

    हामीसँगै यात्रामा रहनुभएका निर्मल ढुंगाना सरका सहपाठीसमेत रहनुभएका पत्रकार अर्जुन काफ्लेले अर्जुनचौपारी र मन्दिर क्षेत्रबारे हामीलाई थप जानकारी दिनुभयो ।

    मन्दिर परिसरमा पुगेर दर्शन गर्‍यौँ । आरतीमा सहभागी हुने अवसर पनि मिल्यो ।

    अर्जुनचौपारी गाउँपालिका–१ को जलबराह धार्मिक वन क्षेत्रमा निर्माण गरिएको नवग्रह मन्दिरलाई नेपालकै पहिलो नवग्रह मन्दिरका रूपमा विकास गरिएको छ । यसको निर्माण धार्मिक तथा ज्योतिषीय महत्वलाई केन्द्रमा राखेर गरिएको हो । मन्दिर परिसरमा नवग्रहसँग सम्बन्धित संरचनासँगै शिवालय तथा विभिन्न धार्मिक संरचनाहरू निर्माण गरिएको छ ।

    नवग्रह मन्दिरसँगै धार्मिक वन क्षेत्रमा नवग्रह र राशिसँग सम्बन्धित वनस्पति संरक्षण तथा धार्मिक–पर्यावरणीय अवधारणालाई पनि जोडिएको छ । पछिल्लो समय यहाँ धार्मिक पर्यटनसँगै वातावरण संरक्षणलाई पनि जोडेर विकास गर्ने प्रयास भइरहेको छ ।

    हामीले मन्दिरमा दर्शन र आरतीमा सहभागी भएर केही समय त्यहाँको वातावरण नियाल्यौँ ।

    nawa gara.jpeg

    दिनभरको यात्रापछि साँझतिर जब हामी देवदहतर्फ फर्किन थाल्यौँ, मनमा भने दुई दिनको यात्राका दृश्यहरू एकपछि अर्को गर्दै घुमिरहेका थिए ।

    यात्रा सकियो, तर सिकाइ बाँकी रह्यो ।

    देवदहबाट सुरु भएको हाम्रो यो यात्रा केवल स्याङ्जा पुगेर फर्किएको यात्रा थिएन ।

    यो यात्रा प्रकृतिलाई नजिकबाट हेर्ने, धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्व बुझ्ने, पहाडी भूगोलमा स्थानीय तहले गरिरहेका विकासका प्रयास हेर्ने र असल अभ्यासबाट सिक्ने अवसर थियो ।

    उत्तरबाहिनीमा नदीको दुर्लभ बहाव र आध्यात्मिक वातावरण देख्यौँ ।

    वालिङमा फोहोरलाई व्यवस्थित गरेर सफा र सुन्दर वातावरण बनाउन सकिने अभ्यास देख्यौँ ।

    छाङ्छाङ्दीमा धार्मिक आस्थासँग जोडिएको पर्यटनको सम्भावना महसुस गर्‍यौँ ।

    भीरकोटमा पहाडी भूगोलमै पनि व्यवस्थित विकासको प्रयास देख्यौँ ।

    स्वरेक मैदानमा प्रकृति र साहसिक पर्यटनको सम्भावना देख्यौँ ।

    गडहरे गुफामा पहाडभित्र लुकेको प्राकृतिक सम्पदा भेट्यौँ ।

    फेदीखोलामा स्थानीय तहको कार्यसम्पादन र शैक्षिक अभ्यासबारे बुझ्यौँ ।

    अर्जुनचौपारीमा धार्मिक पर्यटनलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रयास देख्यौँ ।

    हाम्रो ९ जनाको टोलीमा पाल्पा, स्याङ्जा र दमौलीसँग जोडिएका साथीहरू थिए । अनि मेरो लागि त यो यात्रा अझ विशेष थियो, किनकि म आफैँ भीरकोट नगरपालिका वडा नं. ९ को साउन्ने गाउँमा जन्मिएको हुँ ।

    जन्मभूमि पुगेर त्यहाँका डाँडापाखा हेर्न पाउनु, आफ्नो गाउँबारे अरूबाट सुन्न पाउनु र आफ्नै जन्मस्थानको सम्भावनालाई नयाँ आँखाले हेर्न पाउनु मेरो लागि अविस्मरणीय अनुभव बन्यो ।

    कहिलेकाहीँ आफ्नो ठाउँ बुझ्न टाढा जानुपर्छ रहेछ ।

    अनि कहिलेकाहीँ टाढाको ठाउँ हेरेपछि मात्र आफ्नै ठाउँको सम्भावना पनि देखिन थाल्दोरहेछ ।

    सेतोमसीको यो अवलोकन भ्रमणले हामीलाई त्यही कुरा सिकायो— यात्रा भनेको एउटा ठाउँबाट अर्को ठाउँ पुग्नु मात्र होइन, नयाँ ठाउँबाट नयाँ सोच लिएर फर्किनु पनि रहेछ ।

    क्यामेरामा कैद भएका दृश्यहरू अब तस्बिर र भिडियोका रूपमा रहनेछन् । तर यो यात्राले दिएको अनुभव, भेटिएका मानिस, देखिएका सम्भावना र सिकेका असल अभ्यासहरू भने लामो समयसम्म हाम्रो स्मृतिमा रहनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यात्रा डायरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।