देवदह । देवदह नगर अस्पतालमा अन्तरङ्ग सेवा तथा सुलभ फार्मेसी सेवा सुरु गरिएको छ । शनिवार नगर अस्पतालको चौथो वार्षिकोत्सवको अवसरमा नगर प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले नयाँ सेवाको उद्घाटन गरे ।
अस्पतालमा १५ शय्याको अन्तरङ्ग सेवा र सुलभ फार्मेसी सेवा सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रममा अस्पतालले चार वर्षको अवधिमा प्रदान गरेको सेवाबारे जानकारी दिँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन चौधरीले हालसम्म ७५ हजार जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २४ हजार, आर्थिक वर्ष २०८२/०८३ मा ३२ हजार ९ सय तथा आर्थिक वर्ष २०८३/०८४ को पाँच महिनाको अवधिमा ४ हजार ३ सय जनाले अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।
वार्षिकोत्सव समारोहमा बोल्दै नगर प्रमुख खरेलले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालमा अन्तरङ्ग तथा सुलभ फार्मेसी सेवा सुरु गरिएको बताए । नगरपालिकाको अनुदानमा सुलभ फार्मेसी सञ्चालन गरिएको जानकारी दिँदै उनले नगर अस्पतालमा छिट्टै आँखा उपचार र डेन्टल सेवा समेत सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
नगर अस्पताल व्यवस्थापन समितिका संयोजकसमेत रहेका खरेलले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानसँगको सहकार्यमा आँखा उपचार सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।

कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल, जनस्वास्थ्य कार्यालय रुपन्देहीकी उमाकुमारी थापा, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका प्रकाश रायमाझी, देवदह आदर्श बहुमुखी क्याम्पस प्रमुख जयकिशन अधिकारी, नेपाली कांग्रेसका उपसभापति मिलन मास्की राना, नेकपा एमालेका उपाध्यक्ष कोषबहादुर गुरुङ, नेकपाका अध्यक्ष दीपक न्यौपाने लगायतले धारणा राखेका थिए ।
सोही अवसरमा नगर अस्पताल सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मिनु पनु, सुस्मिता न्यौपाने र लक्ष्मी दर्जीलाई सम्मान गरिएको छ ।
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको स्वागत तथा स्वास्थ्य निरीक्षक गिरी तरामुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology