देवदह । देवदह नगर अस्पताल तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७९ आश्विन १० गते सुरु भएको अस्पतालले बिहिबार एक कार्यक्रमबीच दोस्रो वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संज्ञा सेनले गत दुई वर्षमा २५ हजार बढीलाई सेवा दिएको बताइन् । पहिलो वर्ष १० हजार बढीलाई सेवा दिएको उल्लेख गर्दै मेसु सेनले आ.ब.२०८०-८१ मा अस्पतालले १६ हजार ८७७ जनालाई सेवा प्रदान गरेको बताइन् ।
अस्पतालले देवदह नगर अस्पताल स्थापना भए पश्चात ६७७ जनालाई रेबिज विरुद्धको खोप दिएको छ । २०७९ साल फागुन १९ गते स्वास्थ्य बिमा कार्यक्रमको प्रथम सेवा विन्दु संचालन गरेको अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममा ८२६८ जनालाई सेवा प्रदान छ । त्यसैगरी २०८१ भाद्र ०१ गते सुरु भएको एक्स-रे सेवाबाट हालसम्म २५५ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।
यसैगरी सडक दुर्घटना भएका १०२० जनालाई सेवा दिएको अस्पतालले खोप कार्यक्रम अन्तर्गत १९४५ जना, पोषण कार्यक्रम अन्तर्गत १९५७ जना, मातृशिशु कार्यक्रम अन्तर्गत ३५७ जनाको गर्भवती जाँच सेवा, १५१ जनालाई प्रसुति सेवा, १२३ जनालाई सुरक्षित गर्भपतन सेवा, ५३४० जनालाई प्रयोगशाला सेवा, ७४५ जनालाई एल्ट्रासाण्ड सेवा, क्षयरोग कार्यक्रम अन्तर्गत ३१ जना, कुष्ठरोग कार्यक्रम अन्तर्गत ६ जना र ओ.पि.डि. सेवा अन्तर्गत ७ हजार ५०८ जना सेवाग्राहीहरुलाई सेवा प्रदान गरिएको अस्पतालको तथ्यांक छ ।
२०५३ असार २६ गते तत्कालिन देवदह गाँउ विकास समिति अन्तर्गत ९ वटा वडाहरुमा स्वास्थ्य सेवा दिने उद्देश्यले उप-स्वास्थ्य चौकीको रुपमा स्थापना भएको यो स्वास्थ्य संस्था २०७१ सालमा स्वास्थ्य चौकी हुदै देवदह नगरपालिकाको पहलमा २०७९ साल आश्विन १० गते नगर अस्पताल बनाइएको थियो ।
हाल १० शैय्या अस्पतालको रुपमा संचालन भैरहेको नगर अस्पतालमा ३ जना मेडिकल अधिकृत, ३ जना पारामेडिक्स, ७ जना नर्सिङ्ङ्ग, प्रयोगशाला तर्फ ३ जना, फार्मेसी सहायक १ जना, रेडियोग्राफर १ जना, २ जना कार्यालय सहयोगी, १ जना स्वीपर तथा २ जना सुरक्षा गार्ड गरी जम्मा २३ जना कर्मचारीहरु रहेका छन् ।
अस्पतालले नेपाल सरकारले निशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधि र सेवा निशुल्क प्रदान गर्दै आएको छ ।
यही वर्षभित्र नगर अस्पतालले नयाँ भवनबाट सेवा दिन्छ : नगर प्रमुख खरेल
कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले यही आर्थिक वर्षमै अस्पतालले नयाँ भवनबाट सेवा दिने बताए । अस्पताल विकास समितिका संयोजक समेत रहेका प्रमुख खरेलले ठेकेदारको लापरवाहीले अस्पतालको भवन समयमा निर्माण नभएर साघुरो ठाउबाट सेवा दिनुपर्ने वाध्यतात्मक अवस्थाको अन्त्य हुने बताए । नगरपालिकाले हाल ठेकेदारलाई पुन: काममा फर्काएको र असार मसान्तसम्म सम्पूर्ण काम सकिने उल्लेख गर्दै उनले केही महिनामै भवनको तल्लो तलाबाट सेवा दिने गरि काम भैरहेको दावी गरे । 
नेपाल सरकारबाट औषधीको लागि प्राप्त हुने वार्षिक ३० लाख रुपैयाँले आवश्यक औषधी खरिद गरेर काम गरिरहेको बताउदै उनले देशका नमुना र ठूला भनिएका अस्पतालबाट पनि शतप्रतिशत औषधी र सेवा निशुल्क हुन नसकेको अवस्थामा नगर अस्पतालले सबै सेवा निशुल्क गर्न नसकेको बताए । वीर अस्पतालको उदाहरण दिंदै प्रमुख खरेलले भने, 'देशकै ठुलो र पुरानो वीर अस्पतालमा पनि खोजेको सबै नपाइने अवस्थामा हामीले जे जति सेवा दिन सकेका छौं, त्यो सन्तोषजनक नै छ ।'
कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले नागरिकको स्वास्थ्य भन्दा ठूलो विषय अरु हुन नसक्ने भएकोले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन नगरपालिकाले काम गरिरहेको बताइन् ।
कार्यक्रममा देवदह नगर प्रवक्ता गणेश डुम्रे, नेकपा एमाले देवदह नगर अध्यक्ष केशव भट्टराई, देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडे लगायतले बोलेका थिए ।
वार्षिक उत्सवको अवसरमा नगर अस्पतालले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology