काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ अंकित मूल्यका ३० करोड थान चलनचल्तीका सिक्का छपाइ, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट बोलपत्र माग गरेको हो ।
बैंकले सोमबार प्रकाशित गरेको सूचनाअनुसार सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीसहितका कामका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक चरण र खामबन्दी प्रक्रियाबाट बोलपत्र आह्वान गरिएको छ ।
पूर्वयोग्य बोलपत्रदाताले बोलपत्रसम्बन्धी कागजात कात्तिक १७ गतेसम्म कार्यालय समयमा खरिद गर्न सक्नेछन् । बोलपत्रसम्बन्धी पूर्वबैठक असोज ३० गते दिउँसो १२ बजे नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा हुने जनाइएको छ ।
बोलपत्र कात्तिक १८ गते दिउँसो १२ बजेसम्म बुझाउनुपर्नेछ । सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिनेछ । बोलपत्रसँग न्यूनतम १ लाख ३२ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने पूर्ण अधिकार आफूसँग सुरक्षित रहेको जनाएको छ । सिक्का उत्पादन तथा आपूर्तिका लागि छनोट हुने कम्पनीले सम्झौताअनुसार ३० करोड थान दुई रुपैयाँका सिक्का उपलब्ध गराउनुपर्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology