देवदह । रुपन्देहीको भैरहवास्थित नक्स बारबेल जिमको आयोजनामा असोज १७ गते शनिबार सम्पन्न ‘रेज इन द केज’ खुला पावर लिफ्टिङ प्रतियोगितामा देवदह जिमका खेलाडी दीपक श्रेष्ठ अन्डर ६६ केजी तौल समूहको विजेता बनेका छन् ।
प्रतियोगितामा श्रेष्ठले स्क्वाटतर्फ १७७.५ केजी, बेन्च प्रेसतर्फ ११७.५ केजी र डेडलिफ्टतर्फ २२२.५ केजी तौल उठाउँदै कुल ५१७.५ केजी प्रदर्शन गरेका थिए । उनले आफ्नो क्याटेगोरीमा प्रथम स्थान हासिल गर्नुका साथै प्रतियोगिताकै ‘मेन ओभरअल विनर’ को उपाधिसमेत हात पारे ।
विजेता श्रेष्ठले उपाधिसँगै रु. ४० हजार नगद, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
सोमबार श्रेष्ठलाई जिम हाउसमा सम्मान गर्दै देवदह जिमका सञ्चालक मनोज खनालले श्रेष्ठको उपलब्धि नियमित प्रशिक्षण, अनुशासन र मेहनतको परिणाम भएको बताए । उनले आगामी दिनमा पनि देवदहबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न आवश्यक सहयोग र प्रशिक्षणलाई निरन्तरता दिने बताए ।
देवदह जिमका प्रशिक्षक हिमाल थापाले श्रेष्ठको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै उनको मेहनत र निरन्तर अभ्यासले उत्कृष्ट नतिजा सम्भव भएको बताए । श्रेष्ठको सफलताले देवदह जिमसँगै देवदह क्षेत्रको पावर लिफ्टिङ खेलमा समेत थप उत्साह थपिएको उनले बताए ।
स्थानीय स्तरबाट प्रशिक्षण र मेहनत गर्दै आएका खेलाडीले खुला प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेपछि देवदहमा पावर लिफ्टिङप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको थापाले बताए । आगामी प्रतियोगितामा अझ राम्रो प्रदर्शनका लागि खेलाडीलाई निरन्तर प्रशिक्षण र तयारी गराइने उनले बताए ।
२०७८ देखि खैरेनीमा संचालनमा रहेको देवदह जिमले नियमित प्रशिक्षण दिंदै आएको छ । हाल १०० जना प्रशिक्षार्थीले नियमित प्रशिक्षण लिइरहेका छन भने जिमले पर्सनल ट्रेनरको समेत व्यवस्था गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology