Logo

२०८३, आश्विन २१गते


images
images

घरभाडाको विषयमा स्पेनमा आन्दोलन, समयअघि चुनावमा जाने सरकारको निर्णय

घरभाडाको विषयमा स्पेनमा आन्दोलन, समयअघि चुनावमा जाने सरकारको निर्णय

images
  • घरभाडाको विषयमा स्पेनमा आन्दोलन, समयअघि चुनावमा जाने सरकारको निर्णय
    images
    images

    काठमाडौं । स्पेनमा बढ्दो घरभाडा, आवासको अभाव र महँगिँदो जीवनयापनविरुद्ध जनआक्रोश सडकमा देखिएको छ । घर किन्न नसक्ने र चर्को भाडा तिर्न बाध्य नागरिकको संख्या बढ्दै गएपछि देशका विभिन्न सहरमा हजारौँ मानिस प्रदर्शनमा उत्रिएका छन् । आवासको समस्या अहिले आर्थिक विषयमा मात्र सीमित नभई सरकारका लागि ठूलो राजनीतिक चुनौतीसमेत बनेको छ ।

    images
    images
    images

    स्पेनमा पछिल्ला वर्षमा घरभाडा निरन्तर बढेको छ । घरजग्गासम्बन्धी वेबसाइट आइडियलिस्टाका अनुसार सन् २०१६ मा स्पेनमा प्रतिवर्गमिटर औसत घरभाडा ८.२० युरो रहेकामा यो वर्ष बढेर १५.१० युरो पुगेको छ । करिब एक दशकको अवधिमा औसत घरभाडा झन्डै दोब्बर भएपछि न्यून आय भएका परिवार र युवामाथि यसको सबैभन्दा ठूलो असर परेको छ ।

    images
    images
    images

    स्पेन सरकारका अनुसार भाडामा बस्ने नागरिकमध्ये २६ प्रतिशतले आफ्नो आम्दानीको औसत ४० प्रतिशत हिस्सा घरभाडा र उपयोगितामा खर्च गरिरहेका छन् । युरोपेली संघमा यस्तो खर्च गर्ने भाडावालाको औसत हिस्सा १८ प्रतिशत मात्र छ । सरकारी स्वामित्वका भाडाका घरको अभावले पनि समस्या थप गम्भीर बनाएको छ । स्पेनमा कुल आवासको दुई प्रतिशतभन्दा कम हिस्सा सरकारी भाडाका घरको रहेको छ, जबकि युरोपेली संघको औसत आठ प्रतिशत छ ।

    images
    images
    images

    आवास संकटको पछिल्लो आन्दोलनको एउटा प्रमुख प्रतीक ८७ वर्षीया मारिया डेल कार्मेन अबास्काल बनेकी छन् । राजधानी म्याड्रिडमा करिब ७० वर्षदेखि बस्दै आएकी उनलाई आफू बसेको भवन अन्तर्राष्ट्रिय लगानी कोषले किनेपछि घरबाट निकाल्ने प्रक्रिया अघि बढाइएको थियो । उनको घरभाडा दुई सय प्रतिशतभन्दा बढी बढाएर मासिक करिब एक हजार ८८० अमेरिकी डलर पुर्‍याइएको थियो । प्रहरीले घरबाट निकाल्दै गरेको उनको तस्बिर सार्वजनिक भएपछि घटना थप चर्चामा आएको थियो । पछि अबास्काल आफ्नो घर फर्किन सफल भए पनि उनको घटना आवास संकटविरुद्धको आन्दोलनको प्रतीक बनेको छ। प्रदर्शनकारीले यस्ता घटना दोहोरिन नहुने भन्दै ‘अब अर्को मारिया कार्मेन होइन’ भन्ने नारासमेत लगाएका छन् । घरजग्गा कम्पनीले पर्यटकका लागि बढी मूल्यमा घरभाडामा लगाउने प्रयास गरेको आरोपबीच भएको घटनाले आवास संकटमा लगानी र नाफाको भूमिकामाथि पनि बहस बढाएको छ ।

    स्पेनको आवास संकटमा ठूलो संख्यामा आउने पर्यटकलाई पनि एउटा कारणका रूपमा हेरिएको छ । पर्यटकका लागि प्रयोग हुने घर तथा अपार्टमेन्टको संख्या बढ्दा स्थानीय नागरिकका लागि उपलब्ध आवास घट्ने र त्यसले भाडा बढाउने प्रदर्शनकारीको आरोप छ । गत वर्ष मात्रै स्पेनमा करिब नौ करोड ७० लाख पर्यटक पुगेका थिए। पर्यटनको चाप र घरजग्गामा बढ्दो लगानीका कारण स्थानीय नागरिकका लागि किफायती आवासको समस्या थप गहिरिएको उनीहरूको भनाइ छ ।

    आवास संकट समाधान गर्न प्रधानमन्त्री पेद्रो सान्चेज नेतृत्वको सरकार र वामपन्थी सुमारबीचको गठबन्धन सरकारले संसद्मा दुईवटा आपत्कालीन प्रस्ताव अघि सारेको थियो । कमजोर अवस्थाका भाडावालालाई घरबाट निकालिनबाट रोक्ने, घरजग्गामा हुने सट्टेबाजीलाई नियन्त्रण गर्ने, छोटो अवधिका भाडा सम्झौतामा कडाइ गर्ने तथा भाडाका घर निर्माणलाई कर छुट दिने प्रस्ताव गरिएको थियो । अर्को प्रस्तावमा सम्झौताको अवधि सकिएपछि पनि भाडा सम्झौता स्वतः जारी राख्ने व्यवस्था थियो ।

    प्रधानमन्त्री सान्चेजले मतदानअघि सांसदहरूलाई राजनीतिक स्वार्थभन्दा माथि उठेर आवासको समस्याबाट प्रभावित नागरिकका बारेमा सोच्न आग्रह गरेका थिए । उनले आफ्ना अभिभावकको घर छाडेर स्वतन्त्र रूपमा बस्न नसकेका युवादेखि बढ्दो घरभाडाका कारण निरन्तर चिन्तामा रहेका परिवारको अवस्थासमेत उल्लेख गरेका थिए । तर ३५० सदस्यीय संसद्को तल्लो सदनमा सरकारका दुवै प्रस्तावले आवश्यक समर्थन प्राप्त गर्न सकेनन् ।

    सरकारका प्रस्ताव असफल हुनुमा क्याटालोनियाको पृथकतावादी दल जुन्त्सको विरोध महत्वपूर्ण बनेको थियो । उक्त दलले घरधनीमाथि थप प्रतिबन्ध लगाउँदा उनीहरूले आफ्ना घर भाडाको बजारबाट हटाउन सक्ने र त्यसले उल्टै भाडाका घरको संख्या घटाएर मूल्य बढाउन सक्ने तर्क गरेको थियो । दक्षिणपन्थी जनवादी पार्टी र भोक्सले पनि प्रस्तावको विपक्षमा मतदान गरेका थिए । अर्कोतर्फ सरकार पक्षले विपक्षी दलहरूले बढ्दो भाडाबाट सीमित वर्गलाई फाइदा पुग्ने र कामदार वर्ग थप दबाबमा पर्ने अवस्थालाई संरक्षण गरेको आरोप लगाएको थियो ।

    सरकारका प्रस्तावप्रति विज्ञहरूको पनि पूर्ण समर्थन थिएन । बार्सिलोना विश्वविद्यालयकी समाजशास्त्र विभाग प्रमुख मार्ता सोलर गार्टले प्रस्तावित उपायले आवास संकटको मध्यम तथा दीर्घकालीन समाधान दिन नसक्ने बताएकी थिइन् । उनले अस्ट्रियाको राजधानी भियना उदाहरण दिँदै त्यहाँ सस्तो आवास केवल भाडा नियन्त्रणका कारण नभई लामो समयदेखि ठूलो परिमाणमा सार्वजनिक तथा सामाजिक आवास निर्माण गरिएकाले सम्भव भएको बताएकी थिइन् । संसद्मा प्रस्ताव असफल भएपछि अक्टोबर ३ मा स्पेनका करिब ५० सहरमा हजारौँ मानिस आवास संकटविरुद्ध सडकमा उत्रिएका थिए । म्याड्रिडमा मात्रै सरकारका अनुसार करिब ७० हजार प्रदर्शनकारी सहभागी भएका थिए । उनीहरूले बढ्दो घरभाडा, जबर्जस्ती घर खाली गराउने प्रवृत्ति र किफायती आवासको अभाव समाधान गर्न सरकारसँग ठोस कदम चाल्न माग गरेका थिए । म्याड्रिडको पुएर्ता डेल सोल र बार्सिलोनाको प्लाजा कातालुन्यामा प्रदर्शनकारीले अस्थायी शिविरसमेत बनाएका थिए ।

    धेरैजसो सहरमा प्रदर्शन शान्तिपूर्ण रहे पनि भ्यालेन्सियामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । घरजग्गासम्बन्धी सम्मेलन बाहिर प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास र रबरका गोली प्रयोग गरेको थियो । म्याड्रिडमा पनि दक्षिणपन्थी समूहका केही सदस्य र आवास संकटविरुद्ध प्रदर्शन गरिरहेका मानिसबीच तनाव देखिएको थियो।

    आवास संकटले प्रधानमन्त्री सान्चेज सरकारमाथि राजनीतिक दबाबसमेत बढाएको छ । लामो समयदेखि सरकारमा रहेको सान्चेज नेतृत्वको सरकारका लागि विशेषगरी युवा पुस्तामा आवासको समस्या महत्वपूर्ण राजनीतिक चुनौती बनेको छ । आवाससम्बन्धी अधिकार केन्द्र, क्षेत्रीय र स्थानीय सरकारबीच बाँडिएकाले केन्द्र सरकारले मात्रै समस्या समाधान गर्न कठिन रहेको बताइएको छ ।

    संसद्मा आवाससम्बन्धी प्रस्ताव असफल भएपछि केन्द्र–दक्षिणपन्थी जनवादी पार्टीका नेता अल्बेर्तो नुनेज फेइखोले प्रधानमन्त्री सान्चेजसँग समयअगावै निर्वाचन घोषणा गर्न माग गरेका थिए । अन्ततः सान्चेजले समयअगावै आमनिर्वाचन गर्ने घोषणा गरेका छन् । निर्वाचन आगामी नोभेम्बर २९ मा हुने भएको छ । यसअघि आमनिर्वाचन सन् २०२७ को जुलाईमा हुने तय थियो।

    यससँगै स्पेनको आवास संकट घरभाडा र घरको मूल्यसँग जोडिएको आर्थिक समस्याबाट अघि बढेर राष्ट्रिय राजनीतिक मुद्दामा परिणत भएको छ । एक वृद्ध महिलाको घरबाट निकालिएको घटनापछि चर्किएको जनआक्रोश संसद्मा सरकारको प्रस्ताव असफल हुने अवस्था हुँदै देशव्यापी प्रदर्शन र समयअगावै आमनिर्वाचनको घोषणासम्म पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनमा आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।