म्याग्दी । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध भएको बेनी-जोमसोम-कोरला सडकखण्ड सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ ।
बाढी र पहिरोका कारण सडकखण्डका ५० भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो। हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा कालीगण्डकीले बगाएको पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका-२ कुनौटाबाहेक अन्य सबै स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
अवरुद्ध स्थानमा सडक स्तरोन्नति तथा आवश्यक मर्मतसम्भारको काम निरन्तर भइरहेको छ। पोखरेबगरमा ग्याबियन टो-वाल निर्माण गरी सडकतर्फ माटो भर्ने काम भइरहेको छ । त्यस्तै, कुनौटामा एक्साभेटर प्रयोग गरेर ट्रयाक खोल्ने काम तीव्र गतिमा अघि बढाइएको छ। दुवै स्थानमा कामलाई थप तीव्रता दिइएको छ।
निर्माण तथा मर्मतको काम निर्धारित गतिमा अघि बढे आगामी सोमबारसम्म बेनी-जोमसोम-कोरला सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology